काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको खराब कर्जा ७.४३ प्रतिशत पुगेको छ । गत असार मसान्तको तुलनामा यो ४.८७ प्रतिशत विन्दुले बढेको हो । गत असारमा लघुवित्त वित्तीय संस्थाहरूको औसत खराब कर्जा २.५६ प्रतिशत रहेको थियो ।
तेस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले ०७९ चैत मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्धि भएको देखाएको हो ।
जसअनुसार गत चैतसम्म लघुवित्त वित्तीय संस्थाहरूको कुल निष्क्रिय खराब कर्जा ३८ अर्ब ३३ करोड रुपैयाँ छ । गत चैतसम्म लघुवित्तको कुल कर्जा तथा सापट ३ खर्ब ८१ अर्ब ८२ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निष्क्रिय कर्जाको वृद्धिदर १८२।१६ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा १६.९० प्रतिशतले बढेको राष्ट बैंकले बताएको छ । यस्तै, गत चैतसम्ममा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था १ अर्ब ४२ करोड पुगेको छ ।
गत असारको तुलनामा यो ३०.५१ प्रतिशतले बढी हो । निष्क्रिय कर्जा नोक्सानी व्यवस्था ०७९ असार मसान्तको तुलनामा ११४।७१ प्रतिशतले वृद्वि भइ ४२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम १५.२० प्रतिशतले बढेको थियो ।गत चैतसम्म लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । जसअनुसार गत चैतसम्म कुल कर्जाको ४८.४० प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०७९ असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
आर्थिक वर्ष ०७९,८० को तेस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा २.५१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८.३० प्रतिशत रहेको छ । गत असारसम्म ६५ वटा लघुवित्त वित्तीय संस्था रहेकोमा ०७९ चैतसम्म घटेर ६३ वटा कायम भएको छ ।
६३ वटा लघुवित्त वित्तीयसंस्थाहरूमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५९ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । पछिल्ला महिनामा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार भने सुस्त गतिमा रहेको देखिन्छ । यस्तै, लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या २.३९ प्रतिशतले वृद्धि भई ५९ लाख ९९ हजार र ऋणी संख्या ४.२८ प्रतिशतले घटेर ३१ लाख ६२ हजार पुगेको छ ।