काठमाडौं । जेनजी आन्दोलन र प्रदर्शनबाट प्रभावित भएका निजी क्षेत्रको उद्योगी व्यवसायीहरूसँग अर्थमन्त्री रामेश्वर खनालले अन्तरक्रिया गरेका छन् । निजी व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरूको सम्बोधनका सम्बन्धमा मंगलबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग अर्थमन्त्री खनालले अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।
अन्तर्क्रियामा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एन्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी तथा भाटभटेनी ग्रुप समेतका उद्योग व्यवसायीहरू समेतको सहभागिता रहेको थियो । उक्त छलफलमा निजी क्षेत्रले उद्योग व्यवसायको सुरक्षा, उद्योग व्यवसाय प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि नेपाल सरकारले विश्वस्त तुल्याउन अनुरोध गरेका थिए ।
प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिहरूको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बिमा रकम यथाशीघ्र भुक्तानी हुने व्यवस्था लगायतमा नेपाल सरकारले यथाशीघ्र निर्णय गर्नु पर्ने माग निजी क्षेत्रले राखेको थियो ।
अन्तरक्रियामा अर्थसचिव घनश्याम उपाध्यायले दशैको दिनबाहेक अन्य सार्वजनिक बिदामा दिनमासमेत बैंक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको जानकारी दिए ।
उद्योग व्यवसायीलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मंगलबार अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेको जानकारी गराएका थिए ।
अवलोकनका क्रममा अर्थमन्त्रीले निजी क्षेत्रका समस्याहरूसँग आफू परिचित रहेको बताए । उनले सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको पनि जानकारी दिए ।
उद्योग व्यवसायीको समस्या सरकारको पनि समस्या भएकोले यस समस्याबाट बाहिर निस्किनका लागि एकीकृत व्यवसाय पुनरुत्थान योजना ल्याइने पनि उनको भनाइ थियो । कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको पनि उनले बताए ।