Thursday, December 18, 2025

२०८२ पुष ३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यूएई जाने श्रमिकको रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क


यूएई जाने श्रमिकको रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । यूएईले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा ३ सय ५३ दिराम (१३ हजार ९९५ रूपैयाँ) लिने गरेको हो ।

नेपाली श्रमिकले प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा उक्त शुल्क तिर्नुपरेको हो । जेनजी आन्दोलनअघि यूएई जान प्रहरी प्रतिवेदन अनिवार्य थिएन । जेनजी आन्दोलनपछि यूएईले भिसामा कडाई गरेपछि प्रमाणीकरण अनिवार्य गर्दै उक्त शुल्क तोकेको हो ।

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले श्रमिकलाई थप आर्थिक भार पर्नेगरी प्रहरी रिपोर्ट प्रमाणीकरणको नाममा बढी शुल्क लिने गरेको गरेको बताए ।

संघले प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि तोकिएको शुल्क हटाउन माग गरेको छ । संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । संघको ध्यानाकर्षणपछि श्रम मन्त्रालयले कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले संघबाट जानकारी आएलगत्तै परराष्ट्रलाई पत्राचार गरिएको बताए । ‘संघबाट प्रहरी रिपोर्ट प्रमाणीकरणको शुल्क लिने गरेको विषयमा जानकारी आयो । लगत्तै हामीले परराष्ट्रलाई पत्राचार गरेका छौं । त्यसपछि अहिलेसम्म केही जवाफ आएको छैन्,’ प्रवक्ता घिमिरेले भने ।

नेपाल र यूएईबीच सन् २०१९ मा श्रम सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार श्रमिकका लागि लाग्ने लागत रोजगारदाताले नै व्यहोर्नुपर्छ । तर, त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् । जसले गर्दा श्रमिकहरूमाथि आर्थिक भार थपिँदै गएको छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको शुल्क ६ हजार ५ सयबाट बढेर ९ हजार ५ सय पुर्‍याइएको थियो भने वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पुर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि ७ सयबाट २ हजार १ सय पुर्‍याइएको थियो ।

प्रहरी रिपोर्टलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेर सोही आधारमा भिसा लिने गरिएको थियो । त्यसका लागि ५ सय रूपैयाँ शुल्क थियो । अहिले उक्त रिर्पोट भीएफएसमार्फत प्रमाणीकरण गर्नका लागि पठाउनुपर्ने र त्यसका लागि ३५३ दिराम शुल्क तोकिएको हो । एकातिर भिसामा कडाइ गर्दा श्रमिकहरू जान सकिरहेका छैनन् भने अर्कोतिर चर्को शुल्क लिएर श्रमिकमाथि आर्थिक भार थुप्रिरहेको छ ।