कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिम प्रदेशका विभिन्न भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन तथा नयाँ आयोजनाको शिलान्यास गर्नुभएको छ ।
सोही क्रममा कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको टनकपुर मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बुधबार बिहान महेन्द्रनगर पुग्नुभएका मन्त्री घिसिङले ब्रमदेव स्थित महाकाली सिँचाइ तेस्रो चरणको मूल नहरको स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री घिसिङले महाकाली सिँचाइ आयोजना तेस्रो चरण मूल नहर शीघ्र सञ्चालनमा ल्याउन भारतीय पक्षसँग छलफल भइरहेको बताउनुभयो ।
मूल नहरको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निरीक्षण गर्नुभयो । हाल सञ्चालनमा रहेको पुलको बाँकी काम समयमै पूरा गर्न मन्त्री घिसिङले महाकाली पुल योजना कञ्चनपुरका प्रमुख नेत्र देवकोटालाई निर्देशन दिनुभयो ।
मन्त्री घिसिङलाई कञ्चनपुरस्थित उद्योगीले उद्योगहरूको डिमान्ड शुल्कका कारण कतिपय उद्योगी पलायन हुनुपर्ने अवस्था आएको भन्दै महसुल दरमा एक रूपता कायम गरिनुपर्नेलगायतका माग राखेका छन् । उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पीताम्बर जोशीले विद्युत् महसुलमा तोकिएको सात दिनभित्र महसुल नबुझाए धेरै पेनाल्टी बाँकी रहने हुँदा सोलाई घटाउनुपर्ने, या सात दिनको समयावधिलाई एक महिनासम्म तिर्नुपर्ने व्यवस्था लागु हुनुपर्ने माग राख्नुभयो ।
यसै गरेर मजगाउँ विमानस्थल शीघ्र सञ्चालनमा ल्याइनुपर्ने, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम शीघ्र सञ्चालन गरिनुपर्ने, भम्केनीधाममा निर्माणाधीन नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि आवश्यक आर्थिक सहायता प्रदान गर्न मन्त्रीसमक्ष अनुरोध गर्नुभयो ।
यसै गरी घिसिङले सुदूरपश्चिममा विद्युतीय समस्या समाधान गर्नका लागि झन्डै चार अर्बको नयाँ प्रोजेक्ट निर्माण छिट्टै अगाडि बढाइने बताउनुभयो ।
