Monday, December 08, 2025

२०८२ मंसिर २३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चलचित्र विधेयक संशोधनसहित अघि बढाउने सहमति


चलचित्र विधेयक संशोधनसहित अघि बढाउने सहमति

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधनसहित अगाडि बढ्ने बताउनुभएको छ। उहाँले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै यस्तो बताउनुभएको हो।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“सरकारले विधेयक फिर्ता लिन चाहेको छैन। विधेयक प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ, सरकार, समिति र चलचित्र क्षेत्रका सरोकारवालाको सुझावका आधारमा विधेयकमा व्यापक परिमार्जन गरेर अगाडि बढ्नुपर्छ।” उहाँले विधेयकको दफावार छलफलको क्रममा संशोधन गर्न सकिने धारणा राख्नुभयो।

सञ्चारमन्त्री खरेलसमेत सहभागी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ। 

समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सरकार, सांसद र सरोकारवालाको छलफलपछि विधेयक चलचित्र क्षेत्रको आवश्यक बुँदा थपेर संशोधनसहित अघि बढ्ने सहमति जुटेको हो। 

सरकारकोतर्फबाट धारणा सुनिसकेपछि चलचित्रकर्मी, निर्माता संघ र अन्य सरोकारवाला पनि विधेयक संशोधनको पक्षमा देखिएका छन्। बैठकमा  सुझाव दिन पुग्नुभएका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका महासचिव खगेन्द्र लामिछाने तथा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीलगायतले चलचित्र विधेयक चलचित्र क्षेत्रको विधि आयामलाई समेट्ने गरी संशोधन गर्नु आवश्यक भएको बताउनुभयो।  

बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले विधेयकमा विभिन्न चरणमा सरोकारवाला, विज्ञ र सांसदसँग छलफल गरी दफावार छलफलमा अघि बढ्न समिति तयार रहेको बताउनुभयो। समितिले संशोधनका लागि सरोकारवालासँग लिखित सुझाव पनि मागेको छ।