पर्सा । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषकको मनोबल उच्च राख्न सरकारले कृषिमा आधुनिकीकरण तथा प्रविधिको उच्चतम प्रयोग गरी कृषकलाई प्रोत्साहन हुने गरी गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ ।
पर्सा, बारा र सर्लाहीका कृषकसँग कृषि क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री परियारले कृषकका समस्या सम्बोधन गर्दै सरकारले कृषिमा आधुनिकीकरण गर्न तथा बिचौलियाको चलखेल हुन नदिन कृषिमा सबैभन्दा बढी प्रयोग हुने रासायनिक मलखादको बिक्रीवितरण तथा सहज रूपमा कृषकको घरआँगनसम्म पुग्ने वातावरणको निर्माण गर्न लागेको बताउनुभयो ।
उहाँले यसका लागि मन्त्रालयले सफ्टवेयरको प्रयोग गरी अनलाइन प्रणालीबाट किसानले सहज रूपमा मलखाद पाउने व्यवस्था गर्न लागेको बताउनुभयो । मलखादमा सरकारले बर्सेनि २९ अर्ब रुपियाँ अनुदान दिँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले सरकारले राँगाभैँसी खरिद, गोठ निर्माण र घाँस लगाउन किसानलाई ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो ।
सरकारले माछापालनमा पनि ठुलो अनुदान दिँदै आएको भए पनि भारतीय माछासँग नेपाली माछापालक किसानले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बुझ्न आफूसँगै आएका कृषि विभागका महानिर्देशक प्रकाश सञ्जीवलाई मन्त्री परियारले निर्देशन दिनुभयो ।
उहाँले सरकारले ल्याएको कृषि आधुनिकीकरण परियोजना अन्तिम चरणमा पुगेकाले अब बनाइने परियोजनामा कृषकलाई उच्च प्राथमिकतामा राखेर नयाँ प्रविधिको पहुँच बढाउने गरी नयाँ ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
