काठमाडौँ । कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ प्रतिवेदन अनुसारसो प्रदेशमा १६० स्टार्टअप उद्यममध्ये ८० प्रतिशत उद्यम नाफामा सञ्चालनमा छन् । तिनको औसत नाफा १३.९ प्रतिशत छ ।
अध्ययन अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस्ता स्टार्टअप उद्यमको कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रुपियाँ रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रुपियाँ छ । त्यस्तै सो अवधिमा स्टार्टअप उद्यममा कुल लगानी दुई अर्ब ५६ करोड रुपियाँ रहेको छ । औसत लगानी प्रतिफल दर ५.७ प्रतिशत छ । कुल दुई अर्ब ५६ करोड रुपियाँ लगानीमध्ये ३८.७ प्रतिशत ऋण र ६१.३ प्रतिशत स्वपुँजी रहेको छ ।
अध्ययनमा समावेश १६० उद्यममध्ये ४१.३ प्रतिशत कृषि तथा वनजन्य, १८.१ प्रतिशत उत्पादनमूलक, १७.५ प्रतिशत सेवामूलक, १३.८ प्रतिशत पर्यटन, ९.४ प्रतिशत सूचना प्रविधि क्षेत्रमा केन्द्रित छन् । भौगोलिक रूपमा तराई क्षेत्रमा ६६.९ प्रतिशत, पहाडी क्षेत्रमा २२.५ प्रतिशत र हिमाली क्षेत्रमा १०.६ प्रतिशत उद्यम सञ्चालनमा छन् ।
स्टार्टअप उद्यममा संलग्न उद्यमीमध्ये ३६–५० वर्ष उमेर समूह ४४.४ प्रतिशत, २१–३५ वर्ष उमेर समूह ३९.३ प्रतिशत, ५०–७० वर्ष उमेर समूह १६.२ प्रतिशत रहेका छन् । यस्तै लैङ्गिक आधारमा ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी छन् ।
यी स्टार्टअप उद्यमले आव २०८०/८१ मा एक हजार ४३६ जनालाई रोजगारी दिएका छन्, जसमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष छन् ।
अध्ययनमा हिमाली क्षेत्रबाट १७ वटा (१०.६ प्रतिशत), पहाडी क्षेत्रबाट ३६ वटा (२२.५ प्रतिशत) र तराईका क्षेत्रबाट १०७ वटा (६६.९ प्रतिशत) स्टार्टअप उद्यम छन् । अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यममध्ये वस्तु तथा सेवामा ५४ प्रतिशत, उत्पादन प्रक्रियामा ४१ प्रतिशत र वितरण प्रक्रियामा पाँच प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् ।
स्टार्टअप उद्यमलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने कारणहरूमा ३७.१ प्रतिशतले आत्मनिर्भर बन्ने इच्छा, २५.८ प्रतिशतले समाजमा योगदान गर्ने चाहना, २५.१ प्रतिशतले नयाँ अवसर, ७.९ प्रतिशतले रोजगारीको अभाव र ४.१ प्रतिशतले अन्य कारण उल्लेख गरेका छन् ।
