काठमाडौं । नेपालमा उपभोक्ता मूल्यवृद्धि पछिल्लो ५० वर्ष यताकै न्यून बिन्दुमा झरेको छ । नेपालमा मूल्यवृद्धिलाई प्रभाव पार्ने विभिन्न तत्त्वमध्ये भारतको मुद्रास्फीति प्रमुख पक्ष हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष कात्तिकको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको छ । यसअघि आव २०३२/३३ मा मुद्रास्फीति माइनस ०.६९ प्रतिशतसम्म झरेको थियो । त्यसयता कुनै पनि वर्ष वार्षिक मूल्यवृद्धि २ प्रतिशतभन्दा कम भएको तथ्यांक छैन ।
मासिक गणना हुने वार्षिक बिन्दुगत मुद्रास्फीति दर पनि त्यसयता यो बिन्दुभन्दा कममा नआएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।
भारतको मूल्यवृद्धिको प्रभाव नेपालमा पर्नुको मुख्य कारण भनेको नेपाली र भारतीय मुद्राबीच भएको स्थिर विनिमय दर प्रणाली हो । त्यसका अतिरिक्त नेपालको कुल आयातको ८१ प्रतिशत हिस्सा भारतबाट आउने भएकाले पनि मूल्यवृद्धिमा आयातको योगदान पनि उत्तिकै रहने अर्थशास्त्री बताउँछन् ।
भारतमा न्यून मुद्रास्फीतिको स्वाभाविक असर नेपालको मूल्यवृद्धिमा देखिएको अर्थशास्त्री तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । भारतीय रिजर्भ बैंकले मुद्रास्फीतिको लक्ष्य ४ प्लस–माइनस २ को ब्यान्डभित्र राखेको उनले बताए ।
‘त्यसभन्दा तल भारतको मूल्यवृद्धि झरेको छ, भारतमा न्यून मुद्रास्फीति भएका कारण नेपालको आयातको व्यवस्था, आयातको ठूलो हिस्सा, पेग्ड विनिमय पद्धतिले मूल्यवृद्धि न्यून बिन्दुमा झरेको हो,’ डा. भट्टले भने ।
भारतको मुद्रास्फीतिको दृष्टिकोणबाट नेपालको मुद्रास्फीति ठिकै मान्नुपर्ने उनले बताए । ‘भारतमा १ प्रतिशतभन्दा तल छ, यहाँ १ प्रतिशतभन्दा माथि छ,’ भट्टले भने,‘ आन्तरिक आर्थिक क्रियाकलाप पनि त्यति विस्तार हुन नसकेको अहिलेको मुद्रास्फीतिले स्पष्ट हुन्छ ।’
अहिलेको मुद्रास्फीतिले अर्थतन्त्रमा शिथिलता छ भन्ने देखिने उनको भनाइ छ ।
