काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा भएको भौतिक क्षति मूल्यांकनका लागि तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना आयोगका अनुसार सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षति मूल्यांकनका लागि आवश्यक तथ्यांक संकलनको काम अहिले अन्तिम चरणमा पुगेको हो ।
तथ्यांक संकलनमा एकरूपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार पारेको छ । जसमा स्थानीय तहले स्थानीय तह मातहत कार्यालय, निजी प्रतिष्ठान र सामुदायिक तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षति तथ्यांक प्रविष्ट गर्न सक्ने सुविधा दिइएको छ ।
आयोगका अनुसार अहिलेसम्म धेरैजसो निकायले यस्तो क्षतिको विवरण पठाइसकेका छन् । अबको ३ दिन छुट भएका विवरण संकलन गर्न लागिएको हो ।
