काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
यसबाट चालु खर्चसहित १ खर्ब २० अर्ब रुपैयाँ बराबर रकम बच्न सक्ने देखिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । उनका अनुसार रोक्का राखिएको रकमबाट पहिला काम गरिसकेको तर निर्माण व्यवसायीको भुक्तानी दिन बाँकी रहेको भए भुक्तानी दिन सकिने गरी निर्णय भएको उनले जानकारी दिए । यसबाट राष्ट्रिय गौरव र ठूला आयोजनाको काम द्रूत गतिमा अगाडि बढाउन रकम उपयोग गरिने उनले बताए ।
सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय समेत गरेको छ । जसमा नेपालभित्र र बाहिरबाट पनि रकम योगदान गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम राख्न पाउने र त्यसमा कर कट्टी समेत गर्न सकिने निर्णय भएको उनले बताए । यो परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण समिति समेत बनाइने भएको छ ।