Tuesday, December 16, 2025

२०८२ पुष १, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक


खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक

काठमाडौँ ।  गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः नौ दशमलव १० र तीन दशमलव ६५ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकको औसत मुद्रास्फीति एक दशमलव ५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५९ प्रतिशत रहेको थियो ।

गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव २५, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ६१ र दुग्ध पदार्थ तथा अण्डाको एक दशमलव ९७ प्रतिशतले बढेको छ ।

तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४ दशमलव ४३, मरमसलाको सात दशमलव ८५ र दाल तथा गेडागुडीको पाँच दशमलव ३६ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव १७, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ ।

बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २३ प्रतिशतले घटेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव २६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८०, मधेस प्रदेशको एक दशमलव ७३, बागमतीको शून्य दशमलव ८१, गण्डकीको शून्य दशमलव ३७, लुम्बिनीको एक दशमलव २७, कर्णालीको एक दशमलव ०८ र सुदूरपश्चिमको शून्य दशमलव २६ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव १६, तराईको एक दशमलव २४, पहाडको शून्य दशमलव ८८ र हिमालको एक दशमलव ०६ प्रतिशत रहेको छ ।