अमृत पुडासैनी, काठमाडौं । नेपाल भित्रिने र बाहिरिने रकम (शोधनान्तर) स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचत भएको छ । गत आर्थिक बर्षको सोही अवधीमा शोधानान्तर स्थितिमा व्यापक गिरावट आएको थियो । जसमा २ खर्ब ८८ अर्ब भन्दा बढीले शोधानान्तर घाटा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै भुक्तानी सन्तुलनमा असोजबाट सुधार हुदै आएको जनाएको छ ।
यद्यपि, गत आर्थिक बर्षको बैशाख १४ गते सरकारले १० आयातित वस्तुमा रोक लागएपछि राजस्व संकलनमा कमी आएको थियो भने, त्यसको असर समग्र अर्थव्यवस्था परेको थियो । तर चालू पुसबाट सबै प्रकारका वस्तु तथा सेवा आयातमा लगाइएको प्रतिबन्ध र नगद मार्जिन व्यवस्था हटाएपछि भन त्यसको प्रभाव अहिले देखा परेको हो ।
अर्कातिर, रुस युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरले उस्तै, सामान ल्याउँदा पनि बढी भुक्तानी गर्नुपर्ने स्थितिले शोधानान्तर स्थितिमा चाप परेको थियो । तर पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट तथा युद्धको असर कम पर्दै गएकोले आयातित सामानको मूल्यमा समेत कमी ल्याएको छ । जसले गर्दा शोधानान्तर स्थितिमा समेत सुधार भएको हो ।
त्यस्तै, विगतमा तिरिएको मूल्यभन्दा कम मूल्यमै सामान आयात हुने स्थिति छ । यसको असर मूल्यवृद्धिमा समेत देखिएको छ ।
यता, चालु खाता घाटा ५४ खर्ब ६७ करोड रहेको छ । अघिल्लो बर्ष त्यही अवधीमा चालु घाटा ५ खर्ब ४४ खर्ब थियो ।
त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।
यस्तै, आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
१० खर्ब बढी रेमिट्यान्स
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बैशाख मसान्तसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशत वृद्धि भएर १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स पनि केही महिनाअघि घटेको थियो । तर, यो अवधिमा २४ प्रतिशत बढ्नु भनेको रेमिट्यान्समा पनि सुधार भइरहेको बुझ्न सकिन्छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा १.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.९७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।
आयात र निर्यात भने घट्यो
चालू आर्थिक वर्षको १० महिनामा वस्तु आयात १६.८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९÷८० को दश महिनाको तथ्यांकअनुसार अर्थात साउनदेखि बैशाखसम्ममा कुल वस्तु आयात घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । यो अवधिमा आयात पनि घट्दा देशको मुद्रा बाहिरबाट जोगिएको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७९÷८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई १३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो ।
१२ खर्ब बढी व्यापार घाटा
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको भएको थियो ।
सरकारको खर्च र राजश्व
आर्थिक वर्ष २०७९÷८० को दश महिनामा संघीय सरकारको कुल खर्च १० खर्ब ४७ अर्ब ७६ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ८६ अर्ब ७४ करोड, १ खर्ब २५ अर्ब ६८ करोड र १ खर्ब ३५ अर्ब ३४ करोड रहेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६ खर्ब ८४ अर्ब ६३ करोड र गैर कर राजस्व तर्फ ७१ अर्ब ६२ करोड रुपैयाँ परिचालन भएको छ ।