काठमाडौं । आमजनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य प्रभु साहले शिक्षित र पढेलेखेका मान्छेहरू कृषि पेसामा लाग्नै छाडेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद साहले पहिले–पहिले कृषि पेसामा पैसा भएको मान्छे, पढेलेखेका मान्छेहरू भएको बताएका छन् ।
कृषि नै देशको मूल आम्दानीको स्रोत बताउँदै उनले सरकारले बजेटमा कृषि क्षेत्र र किसानलाई सम्मान गर्ने कार्यक्रम नल्याएको बताए । अहिले पढेलेखेका मान्छेहरू कृषिमा छैनन्, पैसा भएका मान्छेहरूको लगानी कृषिमा छैन । कृषि त मजबुरीको पेसा भएको छ । मान्छे बाध्य भएर मात्रै कृषि गरिरहेको उनको तर्क छ ।
उनले ६५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भएको देशमा कृषि र किसानलक्षित ठोस कार्यक्रमबिनाको बजेट आउनु दुःखद भएको बताए । उनले प्रश्न गरे, हामीले यदि कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्ने हो र किसानलाई सम्मान नगर्ने हो भने के हामीले चाहेको जस्तो नेपाल निर्माण कसरी सम्भव छ । सांसद साहले किसानलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने माग गरे ।
किसानले बैंकबाट ऋण पाउँदैन, बिऊ पाउँदैन, मल पाउँदैन, बजार पनि पाउँदैन । नोक्सान हुँदा पनि किसानले त्यो पेसा छाड्न सकेको अवस्था छैन, राज्यले पनि उसलाई सहयोग र सम्मान नदिने हो भने उसले किन कृषि पेसा गरिरहने उनले भने, सरकारले किसानलाई पेन्सन दिने व्यवस्था गरौँ । उनले देशलाई चुसेर महल ठड्याउनेहरूलाई भन्दा पसिना बगाएर देशको ढुकुटीमा योगदान गर्नेहरूलाई पेन्सन दिनु उपयुक्त हुने बताए ।