काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका छन् । जसमा चालू खर्च ११ खर्ब ४१ अर्ब ७८ करोड, पूँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड र वित्तिय खर्च ३ खर्ब ७ अर्ब ४५ करोड रहेको छ ।
अर्थमन्त्री महतलाई हालको आर्थिक संकुचनबाट उक्लिन तथा जनअपेक्षा पुरा गर्ने दबाबको बाबजुत हालको बजेट आएको हो । जसमा आर्थिक बर्षको विनियोजन बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैंयाको तुलनामा २.३७ प्रतिशत र संशोधित अनुमान १५ खर्ब ४ अर्ब ९९ करोडको तुलनामा १६.३७ प्रतिशतले आर्थिक बर्ष २०८०÷८१ को बजेट ल्याएका हुन् ।
कुन कुन क्षेत्रबाट गरिन्छ बजेट पूर्ति ?
आर्थिक बर्ष २०७९÷८० को बजेटमा सरकारले विभिन्न क्षेत्रबाट रकम उठाएर वा उठ्ने लक्ष्य अनुसार नै बजेट निर्धारण गरिन्छ जसमा सरकारले यस्तो लक्ष्यको लागि भनेर ४ वटा क्षेत्र निर्धारण गरेको छ । ती क्षेत्र मध्ये वैदेशिक अनुदान मार्फत ४९ अर्ब ९४ करोड रुपैंयाको लक्ष्य वैदेशिक सहायत तथा अनुदान मार्फत ल्याउँने लक्ष्य लिएको छ । त्यसैगरी वैदेशिक ऋण मार्फत कुल २ खर्ब १२ अर्ब ७५ करोड रुपैंया ऋण सहायता लिने लक्ष्य लिएको छ । साथै, आन्तरिक ऋण(देशभित्रै जनताबाट उठाउँने) लक्ष्य अन्तर्गत भने १७.३ प्रतिशत अर्थात कुल २ खर्ब ४० अर्ब रुपैंया आन्तरिक ऋण मार्फत उठाउँने छ ।
त्यस्तै, सबैभन्दा बढी राजस्व संकलन मार्फत उठाउँने लक्ष्य सरकारको जसमा ७१.३ प्रतिशत छ । यो भनेको कुल बजेटको १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैंया हो ।
कुन कुन क्षेत्रमा कति कर लगाईयो ?
खासगरी करको दरमा हेरफेर गरिएकोले आमसर्वसाधारणको दैनिक उपभोग्य बस्तुको मूल्यमा समेत परिवर्तन आउँने छ । आम सर्वसाधारणको दैनिक किनमेल, आम्दानी र खर्चमा सोझौ आउँदो बजेटले असर गर्दछ ।
आर्थिक विधेयक २०८० मा विभिन्न नयाँ कर, महसुल, दस्तुर परिवर्तन तथा नयाँ कर निर्धारण गरिएको छ । जसले गर्दा बजारका वस्तु र सेवाको मूल्य थपघट हुनेछ ।
नयाँ बजेटले उपभोग्य वस्तु मध्ये चिनीको भन्सार शुल्क घटाएको छ । आर्थिक विधेयकमा चिनीमा ३० प्रतिशत कर लगाएको छ । चालू आर्थिक बर्षमा चिनीको भन्सार शुल्क ४० प्रतिशत रहेको थियो । अहिले चिनीको बजार भाउ प्रतिकिलो १ सय रुपैंया छ ।
त्यस्तै, सख्खर, सुगर क्यूबमा पनि १० प्रतिशत बिन्दुले घटाएको छ । जसको कारणले उपभोक्ताको भान्सामा पनि घट्ने छ । साथै, सामाजिक सुरक्षा कोषमा आवद्ध भएर वैदेशिक रोजगारीमा गएर कम्तीमा एक बर्ष काम गरेर फर्किएका कामदारले ल्याएको टिभीमा कुनै प्रकारको भन्सार शुल्क लगाएको छैन । भने, विदेशबाट ल्याईएको मोवाईल सेटमा भन्सार शुल्क उच्च रहेको छ । यो शिर्षकमा पनि विभिन्न चरणको भन्सार शुल्क निर्धारण गरिएको छ । जसमा १ लाख भन्दा बढी शुल्क पर्ने मोवाईल सेटको भन्सार शुल्क १० हजार र अन्य मोवाईल सेटको( साधारण वा १ लाख भन्दा कमको) मा भने २ सय भन्सार शुल्क निर्धारण गरिएको छ ।
सुचना प्रविधीसँग सम्बन्धित बिजनेस अन्तर्गत आउटसोसिङ्ग, सफ्टवेयर लगायतको मेसनरी सामानमा भन्सार शुल्क ५० प्रतिशत निर्धारण गरिएको छ ।
आउँदो बजेटले वस्तुको कर, महसुल, दस्तुर बढाएको छ । जसमा सुकुमेल, साबुदाना लगायतको मसलादार वस्तुमा भन्सार शुल्क दोब्बर पारिएको छ । जसको कारणले यी वस्तुको मूल्य बढ्ने देखिन्छ ।
तेलहन (तोरी, भटमास) लगायतको भान्सा मह्रगो हुने भएको छ । यस शिर्षकमा २ प्रतिशत विलासी शुल्क लगाउने घोषणा गरिएको छ ।
पाँचतारे होटलको सेवा, आयातित मदिरा तथा १० लाख रुपैंयाभन्दा बढी मूल्यका हिरा, मोती जस्ता वहुमूल्य धातुका गहनामा दुई प्रतिशत विलासी शुल्क कर लगाएको छ ।
साथै नेपाल बाहिर विद्युतिय सेवा उपलब्ध गराए बापत वा नेपालमै श्रव्यदृश्य सामाग्री राखे बापत विदेशी मुद्रामा रकम पाउँदा पाँच प्रतिशत कर जम्मा गर्नुपर्नेछ । चालू आर्थिक बर्षमा भने यो सेवा बापत १ प्रतिशत करको ब्यवस्था गरिएको छ । यो व्यवस्थाले विदेशमा परामर्ष सेवा, सफ्टवेयर सेवा आदी उपलब्ध गराएर प्राप्त पारिश्रमिक आयमा थप कर लाग्ने छ ।
सामाजिक सञ्जाल जस्तै, फेसबुक,ट्वीटर, टिकटक लगायतको क्षेत्रमा पनि कर बढ्ेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा ३ प्रतिशत कर लाग्ने छ । यस अघि २ प्रतिशत रहेकोमा अब आउँदो आर्थिक बर्षबाट भने १ प्रतिशत थप गरी कुल ३ प्रतिशत कर लाग्ने छ । त्यस्तै विदेशको भ्रमणमा जानेलाई ५ प्रतिशत कर लाग्ने भएको छ । यो कर औपचारिक रुपमा भ्रमणमा निश्किएका जनतालाई नभई ट्राभल एजेन्सी मार्फत कर लिनेछ । जसको कारणले अनौपचारिक रुपमा भ्रमण गर्ने नेपालीलाई असर गर्ने छ ।
वैदेशिक रोजगारीमा पठाउँने म्यानपावर कम्पनीको हकमा १ प्रतिशत कर लगाईएको छ ।
कृषि क्षेत्रको हकमा चालू आर्थिक बर्षमा शतप्रतिशत कर छुटको ब्यवस्था भएपनि अब भने कृषि क्षेत्रलाई पनि करको दायरामा ल्याईएको छ । जसमा १० प्रतिशत कर लगाईएको छ । यो कृषि व्यवसाय गर्नेहरुको लागि हो । भने हवाई सेवामा यसै आर्थिक बर्षदेखि मूल्य अभिवृद्धि कर लगाएको छ । जसमा १३ प्रतिशतसम्म हवाई सेवा मह्रगो हुने भएको हो ।
त्यसैगरी, चुरोट, सुर्ती, मदिरामा कर वृद्धि गरिएको छ । यसले गर्दा अब वस्तुको मूल्यमा हालको भन्दा केही परिवर्तन आउँने छ ।
बजेटमा उल्लिखित भन्सार महसुल, अन्तःशुल्क जस्ता कर आजैबाट लागु भएको छ भने बार्कीको हकमा साउन १ बाट लागु हुने व्यवस्था छ ।
माथिको उपभोग्य वस्तु तथा सेवाको आधारमा नै सर्वसाधारणको भान्सा मह्रगो, सस्तो हुनेछ । भने सिचाई सहितको पूर्वाधार आयोजनाको लाभ हानीको भने कार्यान्वयनको पाटोमा भर पर्नुपर्ने हुन्छ ।