काठमाडौं । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले मुलुकभरका उद्योगहरुको क्षमता उपयोग औसत ५.२३ प्रतिशत बिन्दुले घटेको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक गतिविधि अध्ययनले मुलुकरभरका उद्योगहरुको औसत क्षमता उपयोग घटेको देखाएको हो । घरेलु आर्थिक गतिविधिमा सुस्तता आउनु, बजार माग घट्नु, कच्चा पदार्थको मूल्य बढ्दै जानु, प्राविधिक,दक्ष जनशक्तिको उपलब्धता र स्थिरता नहुनु, नयाँ प्रविधि भित्र्याउन ठुलो लगानी आवश्यक पर्नु र बैंकको ब्याज दरमा स्थिरता नभएको कारण उद्योगको क्षमता उपयोग घटेको बताएको छ।
अध्ययनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगहरुको क्षमता उपयोग औसत ४३.०७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ४८.३ प्रतिशत थियो । कर्णाली प्रदेशका उद्योगहरुको क्षमता उपयोग सबैभन्दा बढी ५१.९ प्रतिशत छ भने मधेश प्रदेशमा संचालित उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम ३४.१ प्रतिशत छ ।
उक्त अवधिमा बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९३.१९, चकलेट उद्योगको ८५.५९ र प्रशोधित चियाको क्षमता उपयोग ८५.३९ प्रतिशत छ । जसअनुसार वनस्पती घ्यु, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्युड, साबुन, प्लाष्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ति, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्यूव, छालाको जुत्ता र कपडाको जुत्ताको क्षमता उपयोग बढेको छ ।
तर, प्रशोधित दुध, चिनी, चकलेट, प्रशोधित चिया, बियर, चुरोट, धागो, पश्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ईटा, स्टिलजन्य उत्पादन, जीआई तार, जीआई पाइप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको प्रतिवेदनले देखाएको छ ।