Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

पछिल्लो दशककै सबैभन्दा सस्तोमा आँप बिक्री


पछिल्लो दशककै सबैभन्दा सस्तोमा आँप बिक्री

काठमाडौं , २१ असार । आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाइमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बानियाँका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० रूपैयाँ प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ । गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रूपैयाँ थियो ।

आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेको छ । जातअनुसार केही आँप अलि महँगो र केही आँप अलि सस्तोमा बिक्री हुन्छ । सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ । उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्योभन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ ।

विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ । उनले मण्डीबाट ३० करोड बराबरको आँप बिक्री हुने अनुमान गरे । नेपालमा व्यापारीहरुले फरक फरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिएको बताए । कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ । विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए। उहाँका अनुसार उत्पादन क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ ।

आव २०७७,७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो । त्यहाँबाट चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८,७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्याङ्क छ । यो वर्ष झन् राम्रो उत्पादन भएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर १०.६७ बाट बढेर १२.६१ मेट्रिक टनले बढेको छ । नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको बताए। नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बानियाँका अनुसार आँपकै कुरा गर्ने हो भने नेपाली आँप हेर्दा पनि राम्रो र स्वादिलो भएकाले यो समयमा अरु कुनै फलफूलले स्थान नै पाउँदैन ।

माग पनि नेपाली आँपकै हुन्छ । नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाहिरको आँप आउँछ । बेमौसममा पनि यसैगरी आँप निकाल्न सकियो भने र व्यावसायिक रुपमा अघि बढाउन सकियो भने नेपाली उत्पादनले बजार लिनेमा उहाँ ढुक्क छन् । तर बिडम्बना बाहिरबाट अन्य फलफूल आइसक्दा पनि नेपालका जिल्लाहरुमा उत्पादन भएका फलफूल काठमाडौँ आउनै सक्दैन ।

आएको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन । त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ ।आँपको मूल्यमा भने खासै एकरुपता हुँदैन । बढी पाकेको आँप सस्तोमा बिक्री हुन्छ भने कम पाकेको आँप राम्रो देखिने महँगोमा बिक्री हुँदै आएको छ । व्यापारीहरुले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आँकलन गर्न पनि मुस्किल हुने बताएको छ ।