काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०,८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको हो । वार्षिक करयोग्य आय २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाएको छ ।
आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रबार थप प्रष्ट पार्दै आगामी आर्थिक वर्षमा तिर्नुपर्ने आयकरसम्बन्धी विवरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले २० लाखभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरिइएको छ । २० लाखभन्दा माथि ५० लाखसम्मको करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ ।
त्यस्तै ५० लाखभन्दा माथिको जुनसुकै करयोग्य आयमा ३९ प्रतिशत कर लाग्नेछ । वार्षिक २० लाखभन्दा कम करयोग्य आय भएका व्यक्तिका लागि भने करका दर यथावत राखिएका छन् । हाल एकल व्यक्तिले ५ लाखसम्म दम्पतीको हकमा ५ लाखसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर तिर्नुपर्ने ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरणबापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने १ प्रतिशत कर आयकर नलाग्ने व्यवस्था रहेको छ । एकल व्यक्तिले पाँचदेखि सात लाखसम्म दम्पत्तिको हकमा ६ लाखदेखि ८ लाखसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ ।
एकल व्यक्तिको हकमा ७ लाखभन्दा बढी र १० लाखसम्म तथा दम्पतीको हकमा ८ लाखदेखि ११ लाखसम्मको आयमा २० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा १० लाख देखि २० लाख र दम्पत्तिको हकमा ११ लाखदेखि २० लाखसम्मको आयमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको हो ।