Saturday, November 01, 2025

२०८२ कार्तिक १६, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपद्जन्य घटना हुनसक्ने भन्दै मौसम सफा नभएसम्म पदयात्रामा नजान अनुरोध


विपद्जन्य घटना हुनसक्ने भन्दै मौसम सफा नभएसम्म पदयात्रामा नजान अनुरोध

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले भारी वर्षा भइरहेकाले उच्च हिमाली क्षेत्रमा मौसम सफा नभएसम्म पदयात्राका लागि नजान अनुरोध गरेको छ। 

यसअघि उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न शुक्रबार सम्मलाई रोकिएकोमा हिमपात र वर्षा जारी रहेकाले आगामी कात्तिक १७ गते सोमबारसम्म पदयात्राका लागि नजान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो। 

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई उच्च हिमाली क्षेत्रको पदयात्राका लागि नजान अनुरोध गरिएको प्रजिअ तिवारीले बताउनुभयो। 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका,४ नारच्याङ स्थित अन्नपूर्ण हिमालको आधार शिविर,खोप्रो हुँदै खयरलेक,पुनहिल लगायतका उच्च हिमाली क्षेत्रका पर्यटकीय स्थलहरुमा पदयात्राका लागि नजान अनुरोध गरेको छ। 

वर्षा र हिमपातका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर जिल्ला स्थित तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रजिअ तिवारीले जानकारी दिनुभयो। 

वर्षा नरोकिएकाले प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।