काठमाडौं । पेट्रोलियम पदार्थको भाउ हेरफेर हुने भएको छ। भारतबाट नयाँ मूल्य सूची आएसँगै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको नेपाल आयल निगमले जनाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको हो।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो। पेट्रोलको भाउ भने यथावत छ।
निगमका अनुसार शुक्रबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीमा पेट्रोलको भाउ ०.०३ रूपैयाँ र हवाई इन्धनको ०.८६ रूपैयाँ बढेर आएको छ। डिजेलको १.१९ रूपैयाँ घटेर आएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २८ रूपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर ९७३, पोखरामा ८०३ र भैरहवामा ७९० तोकेको छ।
