Friday, December 19, 2025

२०८२ पुष ४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकिङ प्रणालीबाट मात्र सुनचाँदी किनबेच गर्न पाईने

ग्राहकको पूर्ण विवरण (केवाईसी) राख्नुपर्ने


बैंकिङ प्रणालीबाट मात्र सुनचाँदी किनबेच गर्न पाईने

काठमाडौँ । सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ । 

आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूका लागि ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै सुनचाँदी कारोबारमा कडाइ गर्न थालेको हो । 

विभागले जारी गरेको नयाँ निर्देशन अनुसार अब सुनचाँदी पसलमा गएर विनापरिचय वा काल्पनिक नाममा गरगहना खरिद–बिक्री गर्न पाईने छैन । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी खरिद–बिक्री गर्ने ग्राहकको पूर्ण विवरण (केवाईसी) राख्नुपर्ने भएको छ । 

गत भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शन’पछि सरकारले आर्थिक पारदर्शितामा निर्मम बनाउने गरी उक्त नीति लिन लागेको देखिन्छ । 
यसअघिको व्यवस्था अनुसार सुनचाँदी पसलमा १० लाख रुपैयाँभन्दा बढीको सुन खरिदमा मात्र ‘ग्राहक पहिचान विवरण’ अनिवार्य थियो । तर पछिल्लो सरकारी निर्णय र विभागको निर्देशन अनुसार यो ‘थ्रेसहोल्ड’ लाई घटाएर आधा बनाइएको छ ।
 
उप्रान्त कुनै पनि ग्राहकले ५ लाख रुपैयाँभन्दा बढीको सुनचाँदी वा बहुमूल्य वस्तु खरिद गर्दा वा बिक्री गर्दा अनिवार्य रूपमा केवाईसी फारम भर्नुपर्नेछ । यो नियम खरिदकर्ताका लागि मात्र नभई बिक्री गर्ने ग्राहकका लागि पनि समान रूपमा लागु हुने विभागले जनाएको छ । 

१० लाख रुपैयाँभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने र शंकास्पद कारोबारको तत्काल रिपोर्टिङ गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । केवाईसीको सीमा ५ लाखमा झारिए पनि बैंकिङ कारोबारको सीमा भने १० लाख रुपैयाँ कायमै राखिएको छ । 

निर्देशनको दफा १६ अनुसार व्यवसायीले १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहकबाट अनिवार्य रूपमा बैंकिङ प्रणाली (चेक, ड्राफ्ट, डेबिट/क्रेडिट कार्ड वा डिजिटल भुक्तानी) मार्फत रकम लिनुपर्नेछ । 

५ लाखदेखि १० लाखसम्मको कारोबारमा केवाईसी अनिवार्य भए पनि नगद कारोबार हुन सक्छ, तर १० लाख नाघ्नेबित्तिकै नगद कारोबार पूर्ण रूपमा अवैध हुनेछ । व्यवसायीले आफ्नो व्यक्तिगत खातामा ग्राहकको पैसा लिन पाउने छैनन् । फर्म वा पसलकै नाममा रहेको बैंक खाता प्रयोग गर्नुपर्नेछ । 

पछिल्लो समय सुनचाँदी कारोबारमा बढ्दै गएको अवैध कारोबारको जोखिम न्यूनीकरण गर्न केवाईसीलाई पहिलो चरणको प्रमुख औजारका रूपमा अघि सारिएको विभागले जनाएको छ । व्यवसायीहरूका अनुसार पछिल्लो समय पसलमा सुन किन्न वा बेच्न आउँदा ग्राहकले अनिवार्य रूपमा केवाईसी फारम भर्नुपर्ने व्यवस्था कडाइका साथ लागु भइसकेको छ ।