काठमाडौं । सरकारले भिजिट भिसा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो ।
अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको जनाएको छ । त्यसका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत बेहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने विभागले जनाएको छ ।
यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो । तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।
अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धन गर्न हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड पुनरावलोकन सिफारिस समितिले गरेको थियो । सोही अनुसार १० माघ २०८० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधान खारेज गरिएको विभागले जनाएको छ ।
उक्त व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने बताउँदै विभागले नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारे पूर्णरूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                     
                     
                    .jpg) 
                     
                     
                     
                     
                    