म्याग्दी । अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ ।
सडक माथिबाट लेदोसहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अवरुद्ध भएको छ ।
उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरे पनि फेरि माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताउनुभयो ।
उहाँका अनुसार जोमसोमदेखि कागबेनीको विभिन्न ठाउँमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको छ । वर्षा भइरहेकाले सडक भासिने र माथिबाट ढुङ्गा खसेर यातायात सञ्चालन गर्न जोखिम भएकाले अहिले सबै सवारी साधनहरु जोमसोममा रोकिएको उहाँले जानकारी दिनुभयो ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                     
                     
                    .jpg) 
                     
                     
                     
                     
                    