Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुमेरु सहकारी प्रकरण : पूर्वराजाका ज्वाईं राजबहादुर सिंहले बयानमा के भने? को-को छन् नयाँ कार्यसमितिमा?


सुमेरु सहकारी प्रकरण : पूर्वराजाका ज्वाईं राजबहादुर सिंहले बयानमा के भने? को-को छन् नयाँ कार्यसमितिमा?

 

काठमाडौँ । सर्वसाधारणको बचत हिनामिना गरेर ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन् ।

सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैं लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन् । ११ अर्ब ५० करोड दायित्व भएको सुमेरु सहकारीको जिम्मा लिएपछि संसदीय समितिले सिंहसँग सोधपुछ समेत गरेको छ ।

सिंहले आफूले बचतकर्ताको विश्वास जितेर रकम फिर्ता गरेको बताएका छन् । तरलता अभाव भएको सहकारीमा आफूले निजी सम्पत्ति बेचेर रकम फिर्ता गर्ने सकारात्मक वातावरण बनाएको उनले बताएका छन् । सिंहको समूहले सुमेरु अस्पतालबाट मेडिकल कलेज चलाउने योजना राखेको छ भने कुल दायित्वभन्दा ४ अर्बभन्दा बढी ‘मर्जिन’ हुने अपेक्षा राखेको छ । 

सुमेरुका तत्कालीन अध्यक्ष भरत महर्जन परिवारसहित बेलायत पलायन भएका छन्, उनले तीन अर्बभन्दा बढी रकम हुन्डीबाट विदेश लगेको अधिकारीहरूको भनाइ छ । अहिले नै साढे ११ अर्ब भुक्तानी गर्ने ताकेतामा रहेको सुमेरु सहकारीमा सेयरधनीका रूपमा प्रवेश गरेका सिंहले पुरानो समितिलाई विस्थापित गराएर नयाँ समितिलाई अघि सारेका छन् । सिंहको समूह र पुरानो समितिबीच गत जेठ ९ मा भएको समझदारीअनुसार असार ३ मा २३ औं वार्षिक साधारणसभा गराइएको हो । सहकारीको कार्यसमितिमा कुनै पद नलिएका सिंहले सेयरधनीका हैसियतमा समझदारीपत्र (एमओयू) मा सेयरधनीका रूपमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार निवर्तमान अध्यक्ष कृष्णप्रसाद कँडेलको कार्यसमितिको सट्टा सिंहको समूहबाट वीरेन्द्र महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । समितिमा हरिश चन्द उपाध्यक्ष, ओर्विल गुरुङ सचिव र राजन राई कोषाध्यक्ष छन् । सदस्यमा गोकुलबहादुर रोकाया, ध्रुवबहादुर शाह र अनिल मल्ल छन् ।

सहकारी छानबिन विशेष समितिले सिंहसहित उनको समूहका पदाधिकारीसँग सोधपुछ गरेको छ । अरू कसैले उठाएको बचत र गरेको हिनामिनाको जिम्मेवारी लिन सिंह किन अघि सरे रु यही प्रश्न राखेर संसदीय विशेष समितिले उनी र समूहसँग सोधपुछ गरेको छ । ‘नयाँ व्यवस्थापनले सबै बचतकर्ताको रकम फिर्ता गर्न सहमतिपत्रमा हस्ताक्षर गरेको जानकारी पाएपछि योजना के छ भनेर सिंहसहित सो सहकारीका पूर्व र हालका गरी पाँच जनासँग बयान लिएको हो,’ समितिका एक सदस्यले भने ।

बयानका क्रममा सिंहले सुमेरु सहकारीमा आबद्ध वीरेन्द्र महर्जन आफ्नो स्कुले साथी भएको, उनले सहकारी सञ्चालन गरौं भन्ने प्रस्ताव ल्याएकोले आफू सो संस्थामा सेयरधनीका रूपमा आबद्ध भएको बताएका छन् । ‘सहकारीको वित्तीय विवरण हेरेपछि राम्रोसँग व्यवस्थापन गर्न सके बचतकर्ताको रकम फिर्ता गर्न सकिने देखियो । त्यसपछि साथीहरूले साधारण सेयर लिएर संस्थामा आबद्ध हुन भन्नुभयो, मैले त्यसै गरें,’ समितिमा उनले भनेका छन् । यद्यपि व्यावसायिक भविष्य देखेरै आफू सहकारीमा आबद्ध भएको उनले समितिलाई बताएका छन् ।

टेलिकमलगायत कर्पोरेट उद्योगमा चासो राख्ने सिंह अहिले सहकारीमा किन आकर्षित भए रु सुमेरु सहकारीको हिसाबकिताब हेरेका एक अधिकारी भने सम्पत्ति र सम्भावनाको आकलन गरेर सिंह संस्थामा आबद्ध भएको बताउँछन् । सहकारी समस्यामा परेपछि वाग्मती प्रदेशको सहकारी महाशाखाको निर्देशनमा सुमेरुको तत्कालीन व्यवस्थापनले ०८० वैशाख १८ मा संस्थाको आर्थिक अवस्था विश्लेषणसहितको श्वेतपत्र जारी गरेको थियो ।

श्वेतपत्रमा उल्लेख भएअनुसार सुमेरु सहकारीका चार शाखा कार्यालयसमेतमा गरी ३४ हजार ७ सय ७८ सर्वसाधारणको १० अर्ब ३४ करोड रुपैयाँ बचत छ । तर, सोही अवधिमा संस्थाको कुल सम्पत्तिको मूल्यांकन भने ११ अर्ब ४९ करोड देखाइएको छ । यस्तै, ऋण प्रवाह ४ अर्ब १० करोड छ । ‘यसरी कुल सम्पत्ति १५ अर्ब ६० करोड र दायित्व ११ अर्ब ५९ करोड मात्र भएकाले खुद नाफा सम्पत्ति ४ अर्ब ९२ लाख रुपैयाँ हुने आकलन छ, तत्कालै करिब ४ अर्बभन्दा बढी मार्जिन आउने भएपछि सिंह पनि आबद्ध भएका हुन्,’ एक सञ्चालकले भने ।

सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन् । डुबेको बचत फिर्ता र स्वामित्व जिम्मा लगाउने बारेमा दुई पक्षबीच कुराकानी भएको स्रोतले बतायो। तर, कानुनी व्यवसायी सुवेदीले भने यसबारे आधिकारिक आफूलाई थाहा नभएको बताए । बचत फिर्तापछि पूर्वराजाका ज्वाइँ राजबहादुरले ती सबै कम्पनीको स्वामित्व लिनसक्ने बताइएको छ । त्यो स्वामित्व लिँदा थप रकम गर्नुपरेको खण्डमा के गर्ने भन्नेबारे सिंह र महर्जन परिवारबीच आपसी छलफल चलिरहेको बताइएको छ । महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरू गरेका थिए ।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए। उनले २०६९ सालमा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए । उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्मलगायत काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए । सहकारीको निक्षेप रकम अन्य कम्पनीहरूमा लगानी गरेकाले महर्जन परिवार सहकारी अपचलनमा फसेका हुन् ।

सहकारीका पूर्व अध्यक्ष भरत महर्जन भने आफ्ना परिवारसहित विदेश गइसकेका छन् । समितिले गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न विदेशमा फरार रहेका २१ जनाको नाम दिएको छ । जसमा सुमेरु सहकारी ललितपुरका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनको नाम सामेल छ ।