Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुर्गम जिल्लामा २७ हजार क्विन्टल चामल ढुवानी गर्ने


दुर्गम जिल्लामा २७ हजार क्विन्टल चामल ढुवानी गर्ने

काठमाडौं । चालू आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो।

खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको बताएका छन् । सोमबारदेखि नै ती जिल्लामा चामल ढुवानी गरिने उनले बताएका हुन् ।  हुम्लामा २५ हजार क्विन्टल चामलको माग आएकाले निर्णय गरेर केही दिनमै चामल पठाउने उनले बताए ।

कर्णालीका धेरै जिल्लाबाट धेरै चामलको माग आएको कम्पनीले बताएको  छ । कर्णालीमा खाद्यान्न उत्पादन नहुँदा बर्सेनि अभाव हुने गर्छ ।  कम्पनीले सोलुखुम्बुमा दुई हजार क्विन्टल थप चामलको माग आएकामा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । भोजपुरमा पाँच सय क्विन्टल चामलको माग आएकामा सोही परिणाममा चामल पठाउन लागिएको छ ।

दैलेखमा एक हजार पाँच सय क्विन्टल, जुम्लामा दुई हजार पाँच सय क्विन्टल चामल पठाउन लागिएको कम्पनीले बताएको छ । यस्तै अछाममा दुई हजार पाँच सय क्विन्टल र दार्चुलामा पाँच हजार चार सय क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले बताएको छ । बाजुरामा तीन हजार पाँच सय क्विन्टल, जाजरकोटमा चार हजार क्विन्टल थप चामल ढुवानी गर्न लागिएको कम्पनीले बताएको छ ।

मुगुमा दुई हजार पाँच सय क्विन्टल, मुस्ताङमा २७० क्विन्टल ढुवानी गर्न लागिएको छ । यस्तै रुकुमपश्चिममा एक हजार पाँच सय क्विन्टल र बैतडीमा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । १२ वटा जिल्लामा हालसम्म ३७ हजार ४२४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले बताएको छ।

खाद्यान्न ढुवानी गर्ने म्याद असारसम्म भएकाले पनि धेरै ठाउँमा चामल पुग्न बाँकी रहेको कम्पनीले बताएको छ । चालू आवको स्वीकृत बजेटमा माग नभएका ठाउँको चामल थप माग आएका ठाउँमा वितरण गर्ने कम्पनीले बताएको छ । स्थानीयस्तरमा पर्याप्त उत्पादन नहुँदा कर्णाली जुम्ला, कालीकोट, हुम्ला, मुगुलगायतका अन्य दुर्गम जिल्लामा खाद्य कम्पनीले चामल पठाउने गरेको छ ।