Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी बैंक र नेफ्स्कूनमा अधिक तरलता, निक्षेप बढ्न थालेपछि सहकारीहरुलाई सहज हुँदै


सहकारी बैंक र नेफ्स्कूनमा अधिक तरलता, निक्षेप बढ्न थालेपछि सहकारीहरुलाई सहज हुँदै

काठमाडौं । सहकारी संस्थाहरुसँग बचत तथा ऋणको कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । दुवै संघले ऋण प्रवाहलाई कडाइ गर्दै तरलता अनुपात बढाएका हुन् ।

सहकारीमा प्रचलनमा रहेको पल्स मनिटरिङ सिस्टमले १५ प्रतिशत भन्दा बढि तरलता हुनुपर्छ भनेको छ । यस्तै नियामक निकायहरुले १० देखि १५ प्रतिशतसम्म तरलता राख्न निर्देशन दिदै आएका छन । तर, संघहरुमा भने आवश्यक्ता भन्दा बढी तरलता राख्ने होडबाजी देखिएको छ ।

वित्तीय विवरण अनुसार साउन महिनामा सहकारी बैंकमा ३८.०१ प्रतिशत तरलता अनुपात हुँदा नेफ्स्कूनमा ३०.१६ प्रतिशत तरलता अनुपात कायम भएको छ । असारमा बैंकसँग ३६.९९ र नेफ्स्कूनसँग ३०.६३ प्रतिशत तरलता कायम थियो ।

असारको तुलनामा साउनमा सहकारी बैंकको निक्षेप बढेपनि कर्जा प्रवाह भने घटाएको छ । साउनसम्ममा बैंकले ६० अर्ब रुपैयाँ बचत संकलन गरी ३१ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । असारमा बैंकले ५८ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड रुपैयाँमा कर्जा प्रवाह गरेको थियो ।

निक्षेप बढेपनि बैंकले कर्जा भने घटाएको छ । पछिल्लो समय सहकारी संस्थाहरु समस्याग्रस्त हुन थालेपछि बैंकले कर्जा प्रवाहमा कडाइ गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवमा खराब कर्जा करिब ९ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले जोखिम भार कम गर्नका लागि कर्जा प्रवाह घटाइरहेको छ ।

नेफ्स्कूनमा भने असारको तुलनामा साउनमा निक्षेप घटेको र कर्जा स्थिर छ । साउन मसान्तसम्ममा संघको कुल निक्षेप २१ अर्ब ९५ करोड रुपैयाँ र ऋण लगानी १५ अर्ब ६५ करोड रुपैयाँ रहेको मासिक वित्तीय विवरणमा उल्लेख छ । असारमा संघको कुल निक्षेप २३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो समय वित्तीय प्रणालीमा निक्षेप बढ्न थालेपछि सहकारीहरुलाई पनि सहज हुन थालेको छ । तरपनि सहकारीप्रति सर्वसाधारण नकारात्त्मक हुँदा काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका सहकारीमा निक्षेप घटेपनि जिल्लाबाहिर बढिरहेको बताइएको छ ।