काठमाडौं, भदौ २८ । नेपालको जलविद्युत् क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराउन डच बैंक एफएमओसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले आग्रह गरेको छ । एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो । वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) नै खारेजीको अवस्था आएको भन्दै इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताएका छन् ।
एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, समाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए । इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत् उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए ।
उनले निर्माण भइसकेका करिब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधीन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना ९४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे । पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ ।
त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने गर्गले बताए । इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालीन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे । एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग मिलेर संयूक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृत्व लिन लामाले आग्रह गरे ।
एफएमओले नेपालमा एनएमबी बैंकद्वारा ५० मिलियन डलर साढे ६ अर्ब रुपैयाँ भन्दा बढी जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ ।