Tuesday, June 24, 2025

२०८२ असार १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब भन्दा बढीको क्षति


बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब भन्दा बढीको क्षति

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब भन्दा बढीको क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४ सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको प्रारम्भिक अध्ययनले देखाएको हो ।

उत्पादनमा रहेका १३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्बको क्षति पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले बताएको छ । विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी–१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँबराबरको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले बताए। भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोडबराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए ।

उनका अनुसार उक्त आयोजनामा हेडवक्र्स, पाइप अलाइनमेन्ट, पावर हाउसलगायतका भौतिक संरचना पूर्ण रूपमा क्षति भएर आयोजनाको पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । त्यस्तै, १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवद्र्धक पुष्पज्योति ढुंगानाले बताए। निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे दुई अर्बभन्दा बढीको क्षति बाढीका कारण पूर्वी नेपालका चार जिल्लामा निर्माणाधीन १७ जलविद्युत आयोजनामा साढे दुई अर्ब भन्दा बढीको क्षति भएको छ ।

निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत् आयोजनामा ८० करोड रुपैयाँबराबरको भएको छ । उक्त आयोजना निर्माणमा खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म चार जनाको मात्र शव भेटिएको छ । ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए ।

त्यस्तै, ९७.५ मेगावाटको इसुवा खोला जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँबराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले बताए। ९.७ मेगावाटको इंग्वा खोलामा पनि ५० करोडबराबरको क्षति भएको आयोजनाका प्रवद्र्धक सतिश न्यौपानेले बताए। इप्पानले बाढीले प्रभावित आयोजनाबारे प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, राष्ट्र बैंकका गभर्नर र बिमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ ।

इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार नै प्रधानमन्त्री दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाबारे प्रस्तुतीकरणका लागि समय माग गरेका छन् ।