काठमाडौं, भदौ ११ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु भट्टराईले आर्थिक समृद्धिको निम्ति बाटोमा नभएर माटोमा लगानी गर्न सबै तहका सरकारलाई आग्रह गरेका छन् । नेपालको इतिहासमा भौतिक पूर्वाधार खडा गरिनुलाई मात्र विकास मानिने परम्पराको स्मरण गराउँदै डा. भट्टराईले यसबाट माथि उठेर माटोमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्घाखाँचीको भूमिकास्थान–१०, धनचौरमा व्यावसायिक कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन्धि खर्कमा सुरु भएको २ दिने कफी खेती तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । बाटोमा लगानी धेरै भइसक्यो, यसको उपलब्धि भनेको गाउँबाट बसाई सरेर बजार झर्न सजिलो बनायो निर्देशक डा. भट्टराईले भने नेपालमा व्यावसायिक कफी खेतीको प्रचुर सम्भावना रहेको ब्रिफिङ गर्दै डाक्टर भट्टराईले चक्लाबन्दी गरी कफी खेतीमा लाग्न किसानलाई सुझाव दिए।
कार्यक्रम राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत चन्द्र पुरीको सहजीकरणमा सम्पन्न भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र इयु टिआइपी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, नेपालको आर्थिक सहयोगमा संचालन भएको तालिममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,भूमिकास्थान नगरपालिका लगायतका सरकारका अंगहरुमा आबद्ध व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । नवौं शताब्दीमा इथियोपियाको कफा प्रान्तमा काल्दी नामक बाख्रा गोठालाले भेट्टाएपछि कफीको सेवन र खेतीको रुपमा विकास भएको पाइन्छ ।
पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै विक्री हुने वैधानिक पेय पदार्थ कफी अहिले विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको छ भने नेपालको कफी अझ गुणस्तरीय कहलिएको कफी विज्ञहरुले बताएका छन् । स्वाद र गुणस्तरले भरिपूर्ण अरबीका प्रजातिको कफी नेपालमा सफल उत्पादन हुने भएकोले यसको माग विश्मा अधिक हुने गरेको पाइएको छ । नेपालमा पहिलोपटक गुल्मी आँपचौरका हिरा गिरीले कफीखेतीको सुरुवात गरेको इतिहास छ । जसबाट विकसित हुँदै अहिले मुलुकका ४३ जिल्लामा व्यावसायिक कफी खेती गर्न थालिएको छ ।
नेपालको ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न र ६३ हजार हेक्टरमा विशिष्ट गुणस्तरको कफी उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । अहिले नेपालमा २ हजार ५ सय मेट्रिक टन आन्तरिक र १४ हजार मेट्रिक टन कफीको बाह्य माग रहेपनि ३ हजार ३ सय ४६ हेक्टर क्षेत्रफलमा ३ सय ५५ मेट्रिक टन मात्रै कफी उत्पादन हुने गरेको छ ।
समुन्द्री सतहदेखि ८ सयदेखि १६ सय मिटर सम्मको उचाइमा कफी खेती गर्न सकिने भएकोले नेपालका सबैजसो पहाडी जिल्लामा यसको खेती गर्न सकिने त्यसमापनि अर्घाखाँची अझ बढी सम्भावना भएको क्षेत्र भएको बताइएको छ । अराबीका कफीको पाकेको दाना समेत अहिले प्रति किलो ९५ देखि १३० रुपैंयासम्म बिक्री हुँदै आएको छ भने सक्कली अराबीका कफी प्रतिकप २ सय ५ सय रुपैंयासम्ममा बिक्री हुन थालेको छ ।