काठमाडौं । करिब एक वर्षदेखि घुम्ती (मोबाइल) राहदानी सेवा रोकिएपछि माल्टामा बसोबास गर्ने नेपालीहरू समस्यामा परेका छन्। नियमित रूपमा हुने क्याम्प स्थगित हुँदा करिब ५०० जना आवेदनकर्ता राहदानी नवीकरणको प्रतीक्षामा रहेका छन् भने करिब ५० जनाको राहदानी म्याद पहिले नै सकिएको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए ।
उनका अनुसार अक्टोबर महिनामा सेवा सञ्चालन गर्ने तयारी गरिएको भए पनि नेपाल सरकारले माल्टाका लागि राजदूत फिर्ता बोलाएको र जेनजी आन्दोलनका कारण प्रक्रिया अनिश्चित बनेको उनको भनाइ छ। अहिले डिसेम्बरमा क्याम्प सञ्चालन गर्ने तयारी भइरहेको भए पनि समय निश्चित हुन सकेको छैन।
अध्यक्ष खनालले राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्याललाई भेट गरी टोली पठाउन आग्रह गरेका छन्। उनले स्पेनस्थित नेपाल दूतावासमा कर्मचारी अभावका कारण दूतावासले एक्लै माल्टामा घुम्ती सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताए। राहदानी विभागबाट कर्मचारी पठिएपछि मात्र सेवा सुरु गर्न सकिने अवस्था रहेकाले सोहीअनुसार विभागले पहल लिनुपर्ने उनको भनाइ छ ।
