Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाद्धारा साढे १ खर्ब कर्जा प्रवाह


पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाद्धारा साढे १ खर्ब कर्जा प्रवाह

काठमाडौं,१६ असार । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । गतवर्षको साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा कुल ३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा सो रकम कर्जा प्रवाह भएको हो ।

सो अवधिमा निक्षेपको वृद्धिदर ७.३ र कर्जाको ३.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको १० महिनामा २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकामा ५ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा प्रवाह भएको ऋण र सोही अवधिमा संकलित निक्षेप दुबै गत वर्षको भन्दा कम हो । गत शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा करिब पौने ४ खर्ब लगानीयोग्य रकम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९२ प्रतिशत छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशत सीडी अनुपात कायम गर्न पाउँछन् । यसरी सीडी अनुपात निर्देशित सीमाभन्दा कम हुनु भनेको बैंकहरूसँग करिब साढे ३ खर्ब रुपैयाँ थप लगानी गर्न सक्ने क्षमता हुनु हो । आउँदो पुससम्मका लागि वाणिज्य बैंकहरूले ऋणपत्रलाई पनि निक्षेपमा गणना गर्न पाउने भएकाले अहिले बैंक तथा वित्तीय संस्थासँग करिब पौने ४ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, भने ४८ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थामा पैसा धेरै भएको भन्दै गत शुक्रबार राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बजारबाट झिक्यो । करिब ६ महिनापछि पहिलो पटक राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको थियो । यसअघि गत माघमा रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट झिकेको थियो । रिभर्स रिपो धेरै पैसा भएको अवस्थामा बजारमा पैसा कम गराउन (झिक्न) प्रयोग गरिने मौद्रिक औजार हो । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ उठाउन रिभर्स रिपो जारी गरेकामा बैंक तथा वित्तीय संस्थाले २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको माग गरे ।

शुक्रबार धेरै माग आएपछि राष्ट्र बैंकले गत आइतबार फेरि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउने योजना बनायो । तर त्यसमा बैंकहरूले १४ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्र माग गरे । त्यसमध्ये पनि राष्ट्र बैंकले १३ अर्ब २० करोड रुपैयाँको मात्र रिभर्स रिपो जारी ग¥यो । माग परेकामध्ये करिब १ अर्ब ५० करोड रुपैयाँमा साढे ५ प्रतिशतभन्दा बढी ब्याजदर माग गरिएकाले रिभर्स रिपो बिक्री नगरिएको राष्ट्र बैंकले जनाएको छ । गत शुक्रबार रिभर्स रिपोको ब्याजदर ३ प्रतिशत रहेकामा आइतबार बढेर ३.९१ प्रतिशत पुगेको थियो । यद्यपि पछिल्ला दिनमा अन्तरबैंक ब्याजदर बढ्दो क्रममा छ । सोमबार अन्तरबैंक ब्याजदर बढेर ५.११ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।