Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरपालिकामा बेथिती बढ्दोः हतारमा निर्णय, फुर्सदमा पछुतो !

विश्व पर्यटन दिवसः


कीर्तिपुर नगरपालिकामा बेथिती बढ्दोः हतारमा निर्णय, फुर्सदमा पछुतो !

काठमाडौं ।कीर्तिपुर नगरपालिकाले गत साउन ७ गते हतारमा एउटा कार्यक्रम सम्पन्न गरियो– कीर्तिपुरमा ‘रात्रीकालीन पर्यटन प्रवद्र्धन सेवा सञ्चालनको समुद्घाटन’ । पर्यटन बोर्डबाट प्राप्त ६ लाख र नगरपालिकाको २ लाख रुपैयाँ गरी ८ लाखमा केहि घटना कार्यक्रम गरी सुरुवात गरेको कार्यक्रमको उपलब्धी भने अहिलेसम्म पनि शुन्य छ । कीर्तिपुरमा अहिले रात्रीकालिन व्यवसाय त के, भएका पर्यटन व्यवसाय पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

बुधबार विश्व पर्यटन दिवस मनाईरँहदा कीर्तिपुर भने सुनसान प्रायः छ । पछिल्लो समय कीर्तिपुर नगरपालिकाले हतारमा कार्यक्रम सम्पन्न गर्ने र आएको बजेटलाई आफूखुशी व्यवस्थापन गर्ने गरेको जनगुनासो नबढेको होइन । यसको प्रमुख कारण भनेको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी हुन् । उनको अहिले स्वास्थ्यका कारण नगरपालिकामा उपस्थिति छैन । लामो समय नगरपालिकामा उपस्थित नहुने गरेका मेयरका कारण प्रशासनिक कार्यसम्पादन चुस्त नभएको स्वयम् विभिन्न वडाका अध्यक्षहरुको गुनासो छ ।

प्रमुख नकर्मी उपचारका क्रममा नेपाल बाहिर हुँदा उपप्रमुख शुभलक्ष्मी शाक्यले कार्यवाहक प्रमुखको जिम्मेवारी लिएकी थिइन् । सोही समय उनले कीर्तिपुर नगरपालिकाभित्र रहेको एउटा संरचना हटाउँदा घटेको घटना अहिले नगरपालिकाले गुपचुप राखेको छ । जुन एउटा सानो निर्णयका कारण नगरपालिकाले आफ्नो ठूलो प्रेस्टीज गुमाएको छ । त्यो विषयमा हामी खोज अनुसन्धान गरिरहेका छौं ।

गत साउन ७ गते कीर्तिपुर नगरपालिकाले रात्रीकालीन पर्यटन व्यवसाय प्रर्वद्धन र सुरुवात भन्दै करिब ४ लाख रुपैयाँ बजेट खर्च गर्यो । बजेट फिर्ता हुने डरले हतारमा गरेको सो कार्यक्रमको उपलब्धी अहिले शून्य छ । स्थानीय नगरप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, बासिन्दादेखी लिएर अतिथिको रुपमा विदेशी पर्यटकहरुलाई समेत बोलाएर विभिन्न बाजागाजासहित साँझ ७ बजेदेखी सुरु गरिएको सो उद्घाटन कार्यक्रममा रात्रीकालीन पर्यटन व्यवसायलाई लिएर विभिन्न व्यक्तिहरुले विभिन्न तर्कवितर्क गरे ।

हाम्रो मिडियाको टिमले रात्रीकालीन पर्यटन व्यवसाय प्रर्वद्धन कत्तिको राम्रो हो भन्ने स्थानीयलाई सोधिरहँदा कोहीले यो कार्य राम्रै हो, यसले पर्यटनलाई झन् आकर्षित गर्छ र स्थानीयको मात्र नभई समग्र देशलाई समेत अर्थतन्त्र सञ्चालनमा सहायता पुग्ने र कीर्तिपुर ठाउँको पनि प्रचार हुने भनी समर्थन गरेका थिए भने कसैले यसविरुद्ध आवाज उठाए । उनीहरुको गुनासो यो थियो कि, रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन गर्दैगर्दा स्थानीय सुरक्षीत नहुने साथै यसले राती सुत्ने समय भएको हुँदा स्थानीयलाई बाधा समेत पार्ने र सुरक्षाको हिसाबले पनि यो व्यवसाय राति सञ्चालन गर्दा खतरा बढ्ने तर्क व्यक्त गरेका थिए । यसले गर्दा पनि सो समुद्घाटन कार्यक्रममा स्थानीयहरु उपस्थिति खासै उत्साहजनक रहेको देखिएन ।

यस विषयमा हामीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटासँग सवाल उठाउंदा उनले सो कार्यक्रम हतारमा गर्न परेको स्वीकार गर्छन् । कीर्तिपुर नगरका विभिन्न स्थानहरुको परिक्रमा गर्दै बाघ भैरव मन्दिर परिसरमा गरिएको कार्यक्रम स्थलबाट दुई महिना अघि नै कीर्तिपुरलाई रातीका समयमा पनि पर्यटक ल्याउन सकिने भन्दै सुरुवात गरिएको थियो । एकदम फितलो कार्यक्रममा स्थानीयको उपस्थिति पनि नगन्ने मात्रामा थियो ।

बजेट फिर्ता हुने भन्दै हतारमा गरेको निर्णय आज विश्व पर्यटन दिवससम्म आइपुग्दा एक दिनपनि सो क्षेत्रमा रात्रिकालिन पर्यटन व्यवसाय चलेको देखिन्न । कीर्तिपुरका एक पुराना पर्यटन व्यवसायी भन्छन्,‘ नगरपालिकाले सुरुवात त गर्यो तर, ढंग पु¥्याउन सकेन, अहिले हामीलाई घाडो भएको छ’। स्थानीय तहले सहयोग गर्दैन, प्रहरी प्रशासन हामीसँग नजिक छैन, रात्रीकालिन व्यवसाय सञ्चालनकालागि गुण्डा पाल्नुपर्ने अवस्थामा छ ।

नगरपालिकाले कुनै पनि पूर्वाधार विना रात्रिकालिन व्यवसाय प्रर्वद्धनकालागि रकम खर्च गर्दा त्यहाँ आर्थिक चलखेल हुनसक्ने एक स्थानीयले बताए । उनले भने, ‘नगरपालिकाको बेथितीको बारेमा भन्ने हो भने दिनरात गएको थाहा हुँदैन, हामीले भनेर मात्र के गर्नु, स्वयम् मेयर साहव नै बिरामी नगरको के कुरा गरेर साध्य छैन, मेयर जस्तै यहाँ नगरपालिका पनि बिरामी परेको स्थिति छ । उनले अझै स्थानीय भाषामा नगरपालिकाप्रति आक्रोश पोख्दै के भन्दै थिए हामी रिर्पाेटिङमा गएकाहरुलाई बुझ्न भने थोरै कठिनाई भईरहेको थियो । अन्तिममा उनले भने, ‘तपाईहरु पत्रकारले जति लेखेपनि हुने केहि होइन नगरपालिका १० वर्षपछाडि गईसक्यो’ ।

प्रमुख प्रशासकीय अधिकृत बास्कोटा के भन्छन् ?

 

कीर्तिपुर नगरपालिकाले दुई महिना अघि नै सुरु गर्ने भनिएको रात्रिकालीन पर्यटन व्यवसाय प्रवद्र्धन सञ्चालन कार्यक्रमले निरन्तरता भने पाएन । यस सेवाको समुद्घाटन कार्यक्रम गर्दा नगरपालिकाको बजेट रकम मात्रै खर्च भयो तर उपलब्धि भने हासिल गर्न सकिएन, यसको जिम्मेवार कसले लिन्छ भन्ने सवालमा प्रमुख प्रशासकीय अधिकृत बास्कोटाले भने, ‘त्यसका लागि त हामीले नगरपालिकासँगको सहकार्य र समन्वयमा एउटा प्लेटफर्म मात्रै बनाईदिएका हौं ।

यहाँको होटल स्टेशनहरु, गाईड स्टेशनहरु, साथै यहाँको पर्यटन क्षेत्रमा आवद्ध जतिपनि व्यवसायहरु छन्, ती व्यवसायहरुलाई उपयोग गर्ने र अब राति चलाउनु है भनेर समन्वय गर्ने कार्य चाहिँ हाम्रो हो । त्यही सहकार्य तथा समन्वय मात्र हामीले गरेका हौं तर व्यवसाय चलाउने त उहाँहरुकै हो नि, साथै ग्राहक पनि नियमित रुपमा आईदिनुप¥यो, यसमा धेरै कुराहरु छन् । कम्तिमा एउटा सन्देश जाओस् र यसले निरन्तरता पाओस् भनेर हामीले एउटा शुभारम्भ गरिदिने वातावरण मात्रै मिलाईदिएका हौं ।’ उनको जवाफ थियो ।

त्यसैगरी, रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सुरक्षाको पनि कुरा उठ्न सक्ला यस विषयलाई लिएर केही कार्ययोजनाहरु भएका छन् कि छैनन् भन्ने प्रश्नमा अधिकृत बास्कोटाले भने, ‘यस विषयबारे त्यत्तिखेर नै नेपाल प्रहरी, पर्यटन बोर्ड र हामीले संयुक्त रुपमा बैठक बसेर छलफल गरेका पनि थियौं ।’ उनका अनुसार अब फेरि पनि एक चोटी जिल्ला सुरक्षा समितिसँग बसेर राति कति बजेसम्म व्यवसाय चलाउने, नेपाल प्रहरीले पनि कतिबेलासम्म सुरक्षा दिन सक्छ, होटल व्यवसायहरुले पनि अनुशासित रुपमा कसरी चलाउन सक्छ भन्ने विषयमा बृहत छलफल गर्न बाँकी नै रहेको, जुन विषयबारे अहिले पनि छलफल भईरहेको जानकारी दिए ।

रात्रीकालिन पर्यटन व्यवसाय सञ्चालनमा सुरक्षा खतरा, प्रहरी के भन्छ ?


विजनेस दर्शनसँग कुरा गर्दै कीर्तिपुर प्रहरी प्रमुख डीएसपी राजु लामाले नगरपालिकाले रात्रीकालिन पर्यटन व्यवसाय प्रर्वद्धनका नाममा यहाँको घरेलु मदिरा उत्पादन र विक्रिवितरणलाई प्रोत्साहन दिन खोजेको छ । त्यो राम्रो होइन । कानुनले त्यस्तो उत्पादन र विक्रिवितरणलाई बर्जित गरेको छ । सुरक्षाको हिसावले त्यो सम्भव छैन । उनले भने, ‘कीर्तिपुरमा होटल तथा भट्टी सञ्चालन गर्नेहरुले रातैभरि भट्टी सञ्चालन गर्दा घट्ने घटनाको जिम्मेवार कसले लिने ? यहाँका स्थानीयको भनाई भट्टी सञ्चालन गर्न पाउनुपर्छ, आफ्नो परम्परा अनुसार घरेलु मदिरा उत्पादन गर्न पाउनुपर्छ, विक्रिवितरण गर्न पाउनुपर्छ भन्ने माग छ, त्यो कानुनले दिंदैन जसले गर्दा हामी यहाँ रात्रीकालिन पर्यटन व्यवसाय सम्भव देख्दैनौं’ ।

यस विषयमा कीर्तिपुर नगरपालिकाले कुनै समन्वयन नगरेको पनि उनको भनाई छ । प्रहरीका अनुसार कीर्तिपुरमा घरेलु मदिरा र त्यसको गैरकानुनी विक्रि–वितरण छ । तर, स्थानीय सरकारले त्यसलाई आफ्नो परम्परा मानिरहंदा थप सुरक्षा चुनौति देखिएको छ । उनले भने, ‘केहि साता अघि काठमाडौंको तीनकुनेमा भएको घटना हामी सबैलाई थाहा छ । यहाँका स्थानीयले रातभरी जाँडरक्सी खाएर मात्तिएर हिँड्न खोजेर हुन्छ ? उनका अनुसार यहाँको स्थानीय मदिरा नियन्त्रण लिन नखोजेको पनि होइन तर, त्यसको सम्भावना पनि देखिंदैन, ज्यान दाउमा राखेर रात्रीकालिन पर्यटन प्रर्वद्धन हुँदैन, प्रहरीले राती ९—१० बजेसम्म मात्रै सुरक्षा दिन सकिन्छ ।

फर्केर हेर्दा, यसअघि भएका निर्णय पनि कार्यान्वयन भएनन्

सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको थियो । कीर्तिपुर एउटा धार्मिक तथा शैक्षिक पर्यटकीय गन्तव्यको महत्वपूर्ण क्षेत्र भएपनि यसको महत्वमाथि बृहत चर्चा हुन सकेको छैन । काठमाडौं उपत्यकाभित्रको ऐतिहासिक शहर कीर्तिपुरलाई पर्यटकीय शहरका रुपमा स्थापित गर्न नेपाल पर्यटन बोर्ड र कीर्तिपुर नगरपालिकाबीच चार वर्ष अघि अर्थात् वि सं. २०७६ भदौ २२ गते कीर्तिपुरका तत्कालीन प्रमुख रमेश महर्जन र पर्यटन बोर्डका तत्कालीन सीइओ दिपकराज जोशीबीच कीर्तिपुरलाई ‘फर्स्ट सीटी वीथ ब्राण्डिङ’ को रुपमा काम गर्ने सम्झौता भएको थियो । 

तर, त्यो विषय अघि बढ्न सकेन । सो समय बोर्ड र नगरपालिकाले कार्यविधि र रणनीति तयार गरी ६ महिनाभित्र ब्राण्डिङ सहितको पहिलो पर्यटकीय शहर घोषणा गर्ने तयारी थालेका थिए । अहिले चार वर्ष बितिसक्दा पनि सो विषयले मूर्तरुप लिन सकेको छैन ।

यहाँका स्थानीय बासिन्दाहरुले पनि यस्ता विषयमा चासो नदिंदा स्थानीय तह जहिले बजेट छैन भन्दै पन्छिने, र काम कसले अघि बढाउने ? भन्ने प्रश्न जहिले पनि उठिरहने एक व्यवसायीको भनाई छ । कीर्तिपुर नगरपालिकाले विश्व पर्यटन दिवसका अवसरमा बुधबारपनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । तर, त्यो एउटा औपचारिकता मात्रै हुने कतिको भनाई छ । कार्ययोजना विना गरिएका कार्यक्रममा जनताले तिरेको करमात्रै नोक्सान हुन्छ भन्ने विषय नगरप्रमुखले बुझीदिएमात्रै हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर भन्ने नारा संभव हुन्थ्यो कि ?