काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका टुक्रे र तयारी नभएका आयोजना कटौती गर्न निर्देशन दिएका छन् । यसका लागि खनालले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन ।
अर्थमन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो निर्णयमा खनालले टुक्रे आयोजना कटौतीका लागि सिफारिस समिति गठन गरेका छन् । तीन सदस्यीय उक्त समितिमा राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा सदस्य रहेका छन् । टुक्रे आयोजना कटौतीको सिफारिसका लागि समितिलाई तीन दिनको म्याद दिइएको छ ।
जसअनुसार बुधबारसम्म समितिले प्रतिवेदन बुझाउनु पर्नेछ । सोमबार अर्थमन्त्री खनालले कार्यभार सम्हाल्दै गर्दा अर्थसचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको बजेटबाट टुक्रे र तयारी विनाका आयोजना हटाउँदा करिब १ खर्ब रुपैयाँ निकाल्न सकिने बताएका थिए ।