काठमाडौं, १७ असार । उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या सामना गर्दै आइरहेको श्री एयरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको छ । श्रीले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गते (आज) का सबै आन्तरिक उडान स्थगन गरेको जनाएको छ । श्रीका प्रबन्धक अनिल मानन्धरले नागरिक उड्डयन प्राधिकरणले नभइ श्रीले सबै जहाजहरुको प्राविधिक जाँचका लागि आइतबारका उडानहरु स्थगन गरेको जनाएका छन् ।
शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको ड्यास–८ क्यू–४०० विमान प्राविधिक समस्या देखिएपछि चाकल दलले उक्त विमानलाई काठमाडौं फर्काएका थिए । ‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ,’ श्रीले विज्ञप्तिमा भनेको छ । श्रीले सोमबारदेखि पुनः उडान सञ्चालन गरिने जनाउँदै आइतबार टिकट खरिद गरिसकेका यात्रुहरुसँग माफी मागेको छ ।
श्री काठमाडौंबाट सुगम रुटहरु भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्दै आइरहेको छ । योसँग क्यानेडियन ड्यास क्यू–४०० विमान ४ र सीआरजे ४ गरी ८ वटा विमान छन् । यीमध्ये उडानमा तीनवटा ड्यास क्यू–४०० र एउटा सीआरजे मात्रै छन् ।