काठमाडौं । यस वर्षको तिहारमा मात्र करिब ४१ हजार थान चाँदीका सिक्का बिक्री भएको छ । गुणस्तरीय ९९९९.९९ टच सुन नभएको भन्दै यस वर्ष असर्फी बिक्री नगरेको राष्ट्र बैंकले चाँदीका सिक्का मात्र वितरण गरेको थियो । सोही क्रममा करिब ४१ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । यस वर्ष राष्ट्र बैंकले १०-१० ग्रामका सिक्का मात्र वितरण गरेको थियो ।
हरेक दिन चाँदीको बजार भाउअनुसार राष्ट्र बैंकले सो दिनको सिक्काको मूल्य तय गर्दै आएको थियो । यसअनुसार प्रतिदिन प्रतिथान सिक्काको मूल्य फरक फरक थियो । सो अवधिमा प्रतिथान ३ हजारदेखि ३ हजार ३ सयसम्ममा सिक्का बिक्री भएको थियो । औसतमा प्रतिसिक्का ३ हजार १ सयका दरले हिसाब गर्दा पनि करिब पौने १३ करोड रुपैयाँ बराबरको चाँदीको सिक्का बिक्री भएको बताइएको छ ।
सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । तर राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । यसअनुसार ‘९९९।९९ टच’ भनेको सबैभन्दा उच्च गुणस्तरको शुद्ध सुन हो ।
असर्फी बनाउन राष्ट्र बैंकले प्रयोग गर्ने यही सुन हो । त्यही गुणस्तरको सुन अभाव रहेको भन्दै यस वर्ष राष्ट्र बैंकले सुनका सिक्का बिक्री गरेन । सुनका सिक्का नभएपछि राष्ट्र बैंकले रुपैयाँ एक र दुईका सामान्य र चाँदीको सिक्का असोज ३१ सम्म बिक्री गरेको थियो । ती सिक्कालाई मेडालियन र स्मारिका नाम दिइएको छ । ती सिक्का चाँदी र किप्रोनिकल तामा र निकल मिश्रण गरिएको बाट पनि बनाइन्छ ।