काठमाडौं । सरकारले दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई नियमन गर्ने भएको छ । यातायात व्यवस्था विभागले दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई सरल, सहज, सुरक्षित र व्यवस्थित बनाउन ‘सार्वजनिक यातायातमा प्रयोग हुने दुई पांग्रे सवारीहरुको नियमन सम्बन्धी राष्ट्रिय निर्देशिका, २०८०’ मस्यौदा तयार गरेको छ ।
पछिल्लो समय नेपालमा पठाओ, इन्ड्राइभर लगायत राइड सेयरिङ सेवा विस्तारित भइरहँदा दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई नियमन गर्न सरकारले मस्यौदा तयार गरेको छ ।
उक्त मस्यौदामा सरकारले दुई पांग्रे सवारी साधनको मापदण्ड तय गरेको छ । निर्देशिकामा सवारीको स्तर तोकिएको छ । पेट्रोलबाट चल्ने सवारी हकमा इन्जिनको न्यूनतम विस्थापन आयतन १०० घन सेन्टीमिटर, विद्युतीय शक्तिबाट चल्ने सवारीको हकमा जडित मोटरको रेडेट पावर न्यूनतम १.५ किलोवाट दूरीमापक यन्त्र (ओडोमिटर) जडान भएको हुनेपर्ने मस्यौदा तयार गरेको छ ।
दुई पांग्रे सवारीमा सवार दोस्रो व्यक्तिको सुरक्षाका लागि पछाडि पट्टी दायाँ वा बाँयातर्फ स्थायी ह्यान्ड ग्रिप जडान भएको, मोटरसाइकलको हकमा यात्रीको कपडा चक्कामा अल्झिनबाट जोगाउन पछाडिको चक्काको बायाँ पट्टिको कम्तिमा ५० प्रतिशत भाग ढाकिने गरी सुरक्षा छेकवार जडान भएको हुनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।
आगामी साउन १ गतेपछि दर्ता हुने सवारीको हकमा अनिवार्यरुपमा एन्टि लक ब्रेकिङ वा कम्बिनेशन ब्रेकिङ प्रणाली जडान भएको हुनुपर्ने मस्यौदामा उल्लेख छ ।
विभागले यातायात सेवा प्रदान गर्न चाहने सेवा प्रदायकले सम्बन्धित कार्यालयमा पञ्जिकृत भई यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरेको छ ।