Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थाले


अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थाले

काठमाडौं, भदौ १३ । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरूलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठुलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट ३० वटा चार सय ५५ र मिडियम चार सय २५ तोकेको छ ।

यस अघि अण्डाको मूल्य प्रतिक्रेट चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैङ्क ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ हुन आउँछ । किसानले हाल १५ पाएका छन् । उहाँको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० पर्दछ । बिस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ ।

सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० पर्दछ । कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ सम्म पर्ने बताए । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा रु एक सय ६५ खर्च हुने बताए। एउटा अण्डाको उत्पादन लागत १४ पैसा ८० पर्ने ढकालको दाबी छ । पछिल्लो समय बढेको मूल्यमा किसानले बैङ्क ब्याज र किस्ता छाडेर लागत मूल्य पाउने बताएका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताए ।

दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले यकिन तथ्याङ्क नभए पनि ३५ लाखको हाराहारी मात्रै उत्पादन हुने गरेको छ । दाना, औषधि, मजदुर, बैङ्क ब्याज लगायतको खर्च अत्यधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुँदै गएका हुन् । यसैबीच नेपाल लेयर्स कुखुरा पालक सङ्घको पोखरामा मङ्गलबार सम्पन्न बैठकले आगामी असोज २६ गते विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २० गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सुरु गरिने सप्ताहव्यापी कार्यक्रमको समापन पोखरामा गरिँदै छ ।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार यस अवधिमा मानव स्वास्थ्यमा अण्डाको महत्वको बारेमा देशव्यापी रूपमा प्रचारात्मक कार्यक्रम गरिने छ । अनाथालय, वृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा अण्डा वितरण गरिँदै छ । जिल्ला जिल्लामा कार्यक्रम गरिने बताए । डा अशेष भट्टराईको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम मनाउन लागिएको हो ।अण्डा दिवसमा पहिलो पटक देशव्यापी रूपमा कार्यक्रम गर्न लागिएको पोखरेलको भनाई छ । सरकारी निकायसँग सहकार्य गरेर सप्ताहव्यापी कार्यक्रम घोषणा गरिने बताए।