Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

के हो स्टार्टअप विजनेस ? कसरी काम गर्ने, विश्व अर्थतन्त्रमा यसको भूमिका

नेपालमा कार्यान्वयनको पक्ष सधै जस्तो कमजोर


के हो स्टार्टअप विजनेस ? कसरी काम गर्ने, विश्व अर्थतन्त्रमा यसको भूमिका

-निरशोभा बलामी
काठमाडौं, १४ जेठ । मानव मष्तिष्कलाई खियाउने हो भने जिवनमा आईपर्ने हरेक समस्यालाई सहज रुपले समाधानको रुपमा त्यसलाई परिणत गर्न सकिन्छ । हामी वरपर भएका समस्यालाई एउटा अवसरको रुपमा हेर्न सकिन्छ । स्टार्टअपको परिभाषा पनि त्यहीबाट सुरु भएको हामीले अनुमान लगाउन सक्छौं । स्टार्टअप त्यस्तो कम्पनी तथा परियोजना हो, जसलाई एक उद्यमीले विस्तार योग्य व्यवसाय नमुनाको खोज र विकास गर्न सुरु गरेको हुन्छ । जुन एकल उत्पादनमा केन्द्रित हुन्छन् र उद्यमीले त्यस्ता उत्पादनलाई बजारमा ल्याएर बजारमा भएको जल्दोबल्दो समस्यालाई समाधान गर्दै राम्रो आम्दानी गर्न उत्प्रेरित गर्छ ।

के हो स्टार्टअप विजनेश ?
स्टार्टअपको परिभाषा सबै सन्दर्भमा एउटै हुन्छ भन्ने हुँदैन । कुनै पनि स्टार्टअपका लागि सबैभन्दा पहिले नवीनतम सोच र योजना आवश्यकता हुन्छ । स्टार्टअप सुरु गर्नुअघि योजना निकै महत्वपूर्ण हुन्छ । योजना बनाउनुअघि समाजमा बस्ने मानिसहरूको जल्दोबल्दो समस्यालाई केलाएर ती समस्यालाई समाधान गर्ने ध्ययले व्यवसाय नमूना तयार पार्नु हो, स्टार्टअप विजनेश ।

स्टार्टअप भनेको परम्परागतरुपमा चल्दै आएको व्यवसायभन्दा केही नयाँ किसिमको व्यवसाय हुनुपर्छ भन्ने विज्ञहरुको बुझाई छ । यसका लागि सबै नयाँ नै हुनुपर्छ भन्ने छैन तर फरक ढंगको गरेको भने हुनुपर्छ । यसर्थ, स्टार्टअप साना तथा मझौला उद्योग (एसएमई)भन्दा पृथक व्यवसायलाई बुझाउँदछ । एसएमई अर्थात् परम्परागत रुपमा चल्दै आएको व्यवसायमा पुरानै प्रयोग तथा वस्तुहरुलाई प्राथमिकतामा राखेर चलाएका हुन्छन्, जसमा कुनै नयाँपन र सृजनशीलता  हुँदैन ।

यस व्यवसायले समस्या समाधान गर्नेभन्दा पनि व्यवसाय गर्ने लक्ष्य राखेको हुन्छ । तर, स्टार्टअप व्यवसायमा सृजनात्मक र नवीनतम दुईटै पक्षहरू हुन्छन्, जुन एक बिन्दुबाट सुरु भएर बृहत रुपमा फैलिन खोजिरहेको हुन्छ । स्टार्टअप भनेकै शुरु गर्ने र अगाडि बढ्ने भन्ने बुझाउँदछ । सुरु गरी बिस्तारित भई माथिसम्म पुग्न सक्नु नै यसको लक्ष्य हो । अहिले स्टार्टअप बृहत् भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकासका कारण पनि यसले धेरै व्यक्तिलाई नयाँ–नयाँ सोचमा काम गर्न प्रेरित गरेको छ ।

उदाहरणको रुपमा नेपालमा पठाओ, ईन्डेक्स, घरघरमा पु¥याउने युजी केक जस्ता कम्पनीले ग्राहकहरुको अनेकन झन्झट तथा समस्या समाधान गर्दै नयाँ व्यवसाय गरिरहेका छन् । यस्तै अन्य उदाहरणमा नेपालको अर्को सफल स्टार्टअपका रुपमा ई–सेवालाई हेर्न सकिन्छ । इसेवा नेपालको पहिलो डिजिटल पेमेन्ट कम्पनी हो, जसले ग्राहकहरुका लागि भुक्तानी सेवालाई अत्यन्त सरल र सहज बनाइदिएको छ ।

त्यस्तैगरी सन् २०१० मा १० लाखको लगानीबाट शुरु भएको फुडमाण्डु नेपालको सबैभन्दा सफल स्टार्टअपमा गन्न   सकिन्छ । मनोहर अधिकारी फुडमाण्डूका मालिक हुन् । फुडमाण्डुमा अहिले ९ सय रेष्टुरेण्ट जोडिएका छन् भने २८० भन्दा बढीले रोजगारी पाएका छन् । नेपालको लागि फुडमाण्डु एक नयाँ किसिमले नयाँ प्रविधिको प्रयोगद्धारा बजारमा नयाँ रुपले स्थापित व्यवसाय भएको कारण यसका संस्थापक मनोहर अधिकारी अहिले युवा पुस्ताका रोडमोडल नै बनेका छन् । यसरी एक जनाबाट शुरु भए पनि जब स्टार्टअप सफल हुन्छन्, तिनले बजारमा हस्तक्षेप गर्दै धेरै मान्छेलाई रोजगारी समेत दिएका हुन्छन् ।

अहिले डिजिटलको जमाना छ, केही समय पहिले कुनै पनि कुरा सिक्न, अनुभव लिन वा प्रयोग गर्न भौतिकरुपमा उपस्थिति हुनुपथ्र्यो । अब भने यस्तो अभ्यास कम्प्युटर, ल्यापटप, मोबाईलमा इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँमा बसेर भर्चुअल्ली गर्न सकिन्छ । विदेश तिरकै कुरा गर्ने हो भने स्टार्टअप अहिले द्रुत गतिमा फैलिरहेको अवस्था छ । स्टार्टअपबाट शुरु भएको नाइका कम्पनी अहिले भारतको सबैभन्दा धेरै श्रृंगारका सामान उत्पादन गर्ने कम्पनी बनेको छ । यसको संस्थापक फाल्गुनी नायर सफल महिला उद्यमीको रुपमा परिचित छन् । पेटिएम, फ्लिप कार्ट पनि स्टार्टअपबाट शुरु भएर अहिले युनिकर्न बनेका छन् । यसरी सानो लगानीबाट शुरु भएर युनिकर्न स्टार्टअप बनेका कम्पनीहरू विश्वमा हजारौं छन् ।

स्टार्टअपबाट युनिकर्न कसरी बन्न सकिन्छ? के हो युनिकर्न ?
युनिकर्न शब्द सबैभन्दा पहिला सन् २०१३ मा ‘काउब्वाय भेञ्चर्स’ की संस्थापक एइलीन लीले अर्ब भ्यालुएशन पुगेका स्टार्टअपहरूलाई सम्बोधनका लागि प्रयोग गरेकी थिइन् । उनले प्रयोग गरेको यो शब्द आज संसारभरी नै चर्चित छ ।
युनिकर्न स्टार्टअप एउटा नयाँ आइडियाबाट शुरु भएको सानो कम्पनी जुन पछि गएर लोकप्रिय र विशाल बन्न सक्छ, थोरै लगानीबाट सुरु भएर यसले बृहत सम्भावनाको क्षेत्र बोकेको हुन्छ र जसको दुई चार वर्षमा अबौंको मूल्य हुन्छ । त्यस्ता स्टार्टअपलाई युनिकर्न स्टार्टअप भनिन्छ ।

संसारभर कति स्टार्टअप युनिकर्न बने भन्ने मूल्यांकन तथा चर्चा देश तथा विदेशमा भईरहने गर्छ । विश्वमा युनिकर्न भनेर चिनिने कम्पनीहरू स्टार्टअपहरू नै छन् । यसको बलियो उदाहणको रुपमा लिन सकिन्छ– अमेजन । अमेजन पनि एक स्टार्टअप नै हो । यो एक ई–कमर्स अमेरिकन कम्पनी हो । जसको संस्थापक जेफ बेजोस हुन् । अमेजनभन्दा पहिला उनले अन्य तीन चार वटा स्टार्टअपहरू गरिसकेका थिए । त्यस्तैगरी छिमेकी मूलुक भारतमा अहिले हरेक महिना दुईदेखि तीनवटा स्टार्टअपहरू युनिकर्नका रुपमा परिणत भइरहेको तथ्याङ्कले देखाएको छ ।

भारतको आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ जनवरीसम्ममा आईपुग्दा २ अर्ब ७७ करोड ७७ लाख डलर भ्यालुएशन गरिएका युनिकर्न स्टार्टअपहरू ७९ वटाभन्दा बढी पुगिसकेका छन् । यो भन्दा पहिले भारतमा सन् २०२१ मा ४४ स्टार्टअप युनिकर्न बनेका थिए । विश्वमै तीव्र रुपमा युनिकर्न स्टार्टअप बनाउने देशमध्ये अमेरिका र चीनपछिको भारत तेस्रो मूलुकमा पर्न सफल भएको छ । सन् २०२१ मा अमेरिकामा ४८७ र चीनमा ३०१ वटा स्टार्टअपहरू युनिकर्न कम्पनी बनेका थिए ।

नेपालमा स्टार्टअपबाट युनिकर्न स्टार्टअपको सम्भावना
नेपालमा पनि स्टार्टअपबाट युनिकर्न स्टार्टअपको सम्भावना प्रबल देखिन्छ । विश्वभर फैलिएको कोरोना महामारीकालमा अन्य क्षेत्रमा नराम्रोसँग असर गरेर चुनौती दिएता पनि इन्टरनेटमा आधारित ई–कमर्श, स्वास्थ्य, डिजिटल पेमेन्टका विभिन्न स्टार्टअपहरूलाई भने सुनौलो अवसर प्रदान गरेको छ । यस अवधिमा डिजिटल ट्रान्सफर्मेशनमा भने बृहत रुपमा भएको पाईन्छ । इन्टरनेटमा आधारित स्टार्टअप वा अन्य व्यवसायी उद्यमीहरुले यही बेला ठूलो प्रगति गरेको देखिन्छ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा, हाम्रो पात्रो, इकमर्श जस्ता स्टार्टअप नेपालमा युनिकर्न स्टार्टअप बन्ने सम्भावना बोकेको विशिष्ट उद्यमीहरूको ठम्याइ छ ।

कोरोना महामारी अर्थात् लकडाउनकै बीचमा पनि धेरै मोबाईल एपहरुको निर्माण तथा विकास भए, जसमध्ये एक हुन् मेरो डाक्टर, यो एपले स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी दिन त्यहीबेलादेखी नै बजारमा प्रवेश गर्ने अवसर प्राप्त गरे । स्टार्टअपले यी कुराहरुमा विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ । सुरुवाती दिनहरुमा स्टार्टअपकालागि लगानीकर्ताहरु मुश्किलले नै भट्ने गर्थे तर, पछिल्लो समयमा भने विभिन्न देश–विदेशबाट नयाँ अवधारणालाई बीउ पुँजी दिने भनेर लगानीकर्ताहरू तथा प्रयोजक आउन थालेका छन् । यसले नयाँ सोचविचार तथा योजना भएर पनि लगानी गर्न नसकेकाहरुलाई अवसर मिलेको छ । लगानीकर्ताबिना स्टार्टअपको यात्रा अपूरो रहन्छ । तसर्थ, स्टार्टअपले आफूलाई सबैभन्दा पहिला कम्तिमा लगानीयोग्य बनाउनुपर्ने हुन्छ । यसका लागि निम्न कुराहरुमा ध्यान दिन आवश्यक पर्छ ।

– एउटा टिम नै मिलेर सुरु गरेको स्टार्टअपमा लगानीकर्ताहरु लगानी गर्न इच्छुक हुन्छन् । त्यसैले सबैभन्दा पहिले सकेसम्म सोच तथा विचार मिल्ने टिम बनाउन आवश्यक हुन्छ । स्टार्टअपमा कहिल्यै पनि आफू एक्लैले एउटै प्रकृतिको सेवा वा उत्पादन बिक्री गरेर अघि बढ्छु भनेर सम्भव हुँदैन । यसका लागि एउटा सबल टिमको आवश्यकता पर्छ ।
–त्यस्तै, लगानीकर्ता हरेक क्षेत्रमा हुन्छन्, बस उनीहरुले लगानी गर्न लायक उचित ठाउँ खोजी रहेका हुन्छन् । उनीहरूलाई तपाईँले आफ्नो स्टार्टअपको सोच,विचार र योजना भने स्पष्टसँग राख्नुपर्छ ।
–लगानीकर्ताले हेर्ने भनेकै उपलब्ध गराएको सेवाबाट उपभोक्ता कत्तिको सन्तुष्ट छन् भन्ने कुरा पनि हो । वस्तु तथा सेवा स्तरीय छ भने उपभोक्ता सन्तुष्ट हुन्छ, उपभोक्ता सन्तुष्टि हुनु नै उत्पादनको बजारीकरण हुनु हो र बजारीकरण भएपछि लगानीकर्ता आफै खोजी खोजी लगानी गर्न आउँछन् ।
–अहिलेको समयमा खरिद र बिक्री प्रक्रियामा मात्र पनि लगानी गर्न लगानीकर्ताहरु आउँदैनन्, त्यसका लागि गुणस्तर रुपमा ग्राहकले खोजे अनूरुप माग अनुसारको वस्तु तथा सेवाको उत्पादन गर्न जरुरी हुन्छ ।
– व्यापारलाई बढोत्तरी गर्न एउटा यस्तो नमुना तयार पार्नुहोस्, जुन लगानी गर्न लायकको होस् र त्यसलाई उपभोक्ताले नै बढाउने किसिमको होस् ।

नेपालको वर्तमान समयमा स्टार्टअपको अवस्था
सरकारले स्टार्टअपहरूका लागि भनेर हरेक वर्षको बजेटमा कुनै न कुनै किसिमले कार्यक्रम ल्याई नै रहेका हुन्छन् । आर्थिक वर्ष ०७१÷७२ बजेटमा पहिलो पटक स्टार्टअप सञ्चालन गर्न चाहने उद्यमीलाई बिऊ पुँजी उपलब्ध गराउने उद्देश्यले ५० करोड रुपैयाँको कोष खडा गरिएको थियो । यसरी सरकारले हरेक वर्ष बिऊ पुँजी, अनुदान, च्यालेञ्ज फण्ड, सहुलियत कर्जा वा विभिन्न शीर्षकमा कार्यक्रम घोषणा गरीरहेका हुन्छन् ।

स्टार्टअपलाई अझ प्रवद्र्धन गर्ने उद्देश्यले संघीय सरकारले चालू आर्थिक वर्ष ०७८÷७९ को बजेटको परियोजनामा पनि धितो राखेर एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिऊ पूँजीकर्जा दिने घोषणा गरेको थियो । योजना आयोगले पनि स्टार्टअपलाई ५० लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भनेर प्रस्ताव माग गरेको थियो । तर, झन्डै दश वर्षसम्मको अन्तरालसम्म आईपुग्दा पनि सरकारले घोषणा गरेका यस्ता सहयोग कुनै पनि स्टार्टअपले पाउन भने सकेका छैनन् । विभिन्न कार्यक्रम र बजेट घोषणा हुने तर कार्यान्वयन नहुने नेपालमा उहिलेदेखी नै चलिआएको परम्परा जस्तै भएको छ ।

यो समस्याको कारणको मूल जडमा पुग्ने हो भने सर्वप्रथम त सरकारको नीतिमा स्टार्टअपबारे स्पष्ट परिभाषा नै नहुनु भन्ने बुझिन्छ । कस्तो व्यवसाय स्टार्टअप हो भन्ने परिभाषा सरकारले तय नै गर्न सकेको छैन । यसबारे देशमा न त प्रभावकारी कुनै नीति बनेको छ, न कुनै ऐन नै छ । यसले नेपालमा स्टार्टअपलाई कतिसम्म बेवास्ता गरिएको छ भन्ने कुरा छरपष्ट देखिएको छ । यस्तो अस्पष्ट नीतिगतका कारण स्टार्टअपहरूले सरकारको सहयोग, बैंकको ऋणदेखि अन्य लगानीसमेत पाउन सकेका छैनन् ।

सरकारले अहिलेसम्म औपचारिकरुपमा स्टार्टअपलाई परिभाषितसमेत नगरेकोले बजेट कार्यान्वयनमा समेत समस्या परिरहेको नेपाल उद्योग वाणिज्य महासंघको भनाई छ । सयौं युवाहरुले स्टार्टअप विजनेशका लागि प्रस्ताव दर्ता गराएको कयौं महिना वर्ष पुगिसक्दा पनि ती प्रस्तावबारे निर्णय भयो कि भएन उनीहरुलाई केही जानकारी हुँदैन । योजना आयोगमा मात्रै स्टार्टअप विजनेशका लागि प्रस्ताव हाल्ने युवाको संख्या करिब ७०० पुगिसकेको तथ्यांकले देखाएको छ ।

सरकारले आर्थिक वर्ष २०७१\७२ को बजेटमा स्टार्टअप फन्ड बनाउने घोषणा गरेका थिए । त्यस बजेटमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले नवीन विचार भएका तर लगानीयोग्य पुँजीस्रोत नभएका साना र मध्यम व्यवसायी गरी आविष्कारकर्ता तथा उद्यमीलाई शुरुको पुँजी उपलब्ध गराई प्रोत्साहन गर्न एक स्टार्टअप कोष खडा गर्ने भन्ने विवरण समेत प्रस्तुत गरेका थिए ।

त्यस्तैगरी, आर्थिक वर्ष २०७५÷७६ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न शुरुवाती पुँजी उपलब्ध गराउन च्यालेन्ज फन्ड स्थापना गर्ने घोषणा गरेका थिए । साथसाथै, शिक्षित युवाहरुलाई प्रोत्साहन गर्दै शैक्षिक प्रमाणपत्रको आधारमा ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । तर, दुर्भाग्यवश सरकारले घोषणा गरेको यस्तो कुनै पनि बजेट, सहुलियत कर्जा, फन्डको कार्यान्वयन भने कहिल्यै पनि हुन सकेनन् । यी कुराहरु बजेटको पानामा मात्रैै सीमित रहे ।

नेपालमा स्टार्टअपबाट लाभ उठाउन गर्नुपर्ने अबको पहल
करिब एक दशकको लामो संघर्षपछि विश्वभर नै यसको चर्चा चुलिरहँदा बल्ल नेपालमा पनि स्टार्टअप व्यवसायिक स्तरमा पुगेको छ । अहिले यसले राम्रो बजार पाईरहेको अवस्था छ । फूडमाण्डू, इसेवा, केही ई–कमर्श तथा बिजनेश प्लेटफर्महरूले राम्रो प्रगति गरेपछि स्टार्टअपको महत्व तथा आवश्यकता बढेको देखिन्छ । पहिले सरकार तथा नीजि व्यवसायिक क्षेत्रहरुले स्टार्टअपलाई भर्खरका युवाको सामान्य कामको रुपमा गणना गर्दथे तर, अहिले आएर स्टार्टअपले विश्वभर नै स्थान पाईरहेको अवस्थामा भने स्टार्टअप उद्यमीका कुरा सरकारले सुन्न थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले पनि स्टार्टअप व्यवसाय गरेका युवा उद्यमीहरूलाई लगानी जुटाउन भनेर १ वष्र्न अगाडी नै प्रस्ताव गरेको थियो । कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवामा आधारित नवीनतम सोचका व्यवसायलाई प्राथमिकतामा राख्ने भन्दै महासंघले यस प्रस्ताव अनुरुप सहभागी हुनका लागि कम्पनी दर्ता हुनुका साथै एक वर्ष सञ्चालन गरी अडिट गरेको हुनुपर्ने, केही लगानी भएको हुनुपर्ने र व्यवसायको सम्भावना बोकेको हुनुपर्ने जस्ता मापदण्ड उल्लेख छन् । जसमा आवेदकहरूमध्ये सम्भावित राम्रा ५० वटा स्टार्टअप छानेर तिनलाई महासंघले लगानी जुटाउने भनिएको छ । नेपाल उद्योग परिसंघले पनि स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने भनेर पाँच महिना अगाडी नै स्टार्टअप अभियान समिति गठन गरेको छ ।

त्यस्तै, नवउद्यमी तथा स्टार्टअपलाई सहयोग र प्रोत्साहन गर्न सन् २०१५ देखी सञ्चालन गरेको ‘अन्तरप्रेरणा’ ले स्टार्टअप तथा व्यवसायमा आउन चाहने युवा तथा विद्यार्थीहरूलाई मेन्टरिङ गर्ने, प्रशिक्षण दिने र लगानी जुटाउने समेत काम गर्दै आईरहेको छ । यो एक उद्यमशीलतालाई प्रोत्साहन तथा बढोत्तरी गर्ने, सहयोगी संस्था तथा अन्य लगानीकर्तालाई एकै ठाउँमा ल्याउने मेन्टर गर्ने प्लेटफर्म पनि हो । यसले मुख्य गरी व्यवसायको अवधारणा निर्माण, लगानी र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा स्टार्टअपहरूलाई सहयोग गर्दै आईरहेको छ ।

सम्भावना तथा पहल
विश्वमा सानो व्यवसायबाट शुरु गरेका सयौं स्टार्टअप अहिले अर्बौंको व्यापार गर्ने युनिकर्न बनेका छन् । जसले आन्तरिक रोजगारी सिर्जनामा ठूलो योगदान पु¥याएरहेका छन् भने मुलुकको आर्थिक सुधारमा समेत यसले ईंट्टा थप्ने काम गरेका  छन् । यति महत्वपूर्ण योगदान गर्ने स्टार्टअप भने नेपालमा लामो समयदेखि ओझेलमा परेको देखिन्छ । विश्वमा झैं नेपालमा पनि स्टार्टअपको धेरै सम्भावना देखिन्छ । त्यही सम्भावना मध्ये सफल स्टार्टअपका पनि धेरै उदाहरण छन् । सबै स्टार्टअप सफल हुन्छन् भन्न पनि सकिदैन ।

सम्भावना बोक्ने खालको र ग्राहकले रुचाउने र समयलाई चिन्न सक्ने खालको पनि हुनुपर्छ । स्टार्टअपका लागि सबैभन्दा पहिले बजारको आवश्यकता र माग के हो भन्ने कुरा राम्रोसँग बुझेको हुनुपर्छ । स्टार्टअप गर्नुअघि आवश्यकता, बजार र परीक्षण गरी तीन कुरालाई ध्यानमा राखी सुरुवात गर्न सकिन्छ । यसले युवाहरुका लागि देशमै रोजगारीको अवसर प्रदान गरिदिने हुँदा आगामी दिनहरुमा स्टार्टअपबाट उद्यमी तथा ग्राहकले मात्र होईन कि सिंगो देशले नै लाभ लिनसक्ने सम्भावना देखिन्छ ।

नयाँ सोचका साथ नौलो व्यवसाय शुरु गर्ने युवालाई सरकारले पनि प्रोत्साहन गर्दै विभिन्न परियोजनाहरु ल्याउने मात्र होईन कि त्यसलाई कार्यान्वयन पनि गर्न सक्नुपर्छ । विभिन्न मुलुकमा जस्तै नेपालमा पनि स्टार्टअपबाटै युनिकर्न बन्यो भने विदेशी मुद्राको ठूलो लगानी भित्रिन सक्छ भनेर सरकारले अब बेलैमा बुझ्न जरुरी छ ।

अतः सरकारले स्टार्टअपलाई स्पष्ट परिभाषित गरी आवश्यक नीति, नियम तथा कार्यक्रमहरू राष्ट्रिय स्तरमा गर्नुपर्ने र नेपालका सम्पूर्ण प्रदेशमा स्टार्टअपसम्बन्धी इन्क्युवेसन सेन्टर खोल्नुपर्ने जरुरी देखिन्छ । यो अवस्थामा परिवर्तन ल्याउनका लागि स्टार्टअप उद्यमीले मात्र प्रयास गरेर पनि हुँदैन । यसका लागि विभिन्न संघसंस्थाका साथै र सरकारको ठूलो भूमिका हुन्छ ।