Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

व्यक्तिगत स्वार्थ र आवेशको चपेटामा सहकारी, बचतकर्ताको निशानामा सञ्चालक


व्यक्तिगत स्वार्थ र आवेशको चपेटामा सहकारी, बचतकर्ताको निशानामा सञ्चालक

काठमाडौं । संघीय राजधानी काठमाडौं नजिकै रहेको कीर्तिपुर नगरपालिका वडा नंं ३ ढल्पामा शुक्रबार बिहानै एउटा घटना घट्यो । घटना थियो, कीर्तिपुर नगरपालिका वडा नं.९ नगाऊ स्थित दर्शन सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको ढल्पा स्थित निवासमा भएको आगजनि र तोडफोडको प्रयास । कीर्तिपुर प्रहरी समयमै पुगेकाले मानविय तथा जनधनको क्षति भने हुन पाएन । यो एक प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय देशमा बढ्दो आर्थिक तरलताको कारण सबैभन्दा ठूलो मारमा देशको वित्तीय क्षेत्र परेको छ । त्यसमा पनि सहकारी संस्थाहरु अझ बढी थप मर्कामा परेका छन् । गत जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्यो ।

एक साताअघि मात्रै राष्ट्र बैंकले पनि मौद्रिक नीति सार्वजनिक गरेको छ । देशको अर्थव्यवस्थालाई चलायमान बनाउन मौद्रिक नीतिले ठूलो भूमिका खेल्छ । त्यसमा स्पष्ट सहकारी र वित्तीय क्षेत्रका विषय समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनका लागि छुट्टै संयन्त्र बनाउन सरकारसँग समन्वय गर्ने विषयलाई मौद्रिक नीतिमा समावेश गरेको छ । आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ ।


त्यस्तै प्रतिनिधिसभा अन्र्तगत एमालेका सांसद सुर्य बहादुर थापा सभापति रहेको संसदीय छानविन विशेष समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा निरन्तर छलफल गरिरहेको छ । साउन १७ गतेसम्म सो समितिले सहकारी समस्याका विषयमा २८ औं पटक समितिको बैठक गरेको छ । समितिले विभिन्न व्यक्तिहरू, सरोकार निकायसँग सोधपुछ गर्नुका साथै सरकारलाई निर्देशन पनि दिएको छ । अर्काे कुरा सहकारी संस्थाका सञ्चालक भाग्ने, निक्षेप फिर्ता नगर्ने तथा सहकारीहरु समस्याग्रस्त हुने क्रम बढेपछि सरकारकै पहलमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठनगरि काम अघि बढाइएको छ ।

अहिले सो समितिले देशभर समस्याग्रस्त सहकारीका सञ्चालक तथा सहकारी संस्थाको सम्पत्तिलाई व्यवस्थापन गरि बचतफिर्ता अघि बढाएको छ । अनामनगरमा कार्यालय रहेको समितिले गत महिनाबाट शिवशिखर र तुलसी सहकारीका मार्ट बिक्री गरि बचतफिर्ता अघि बढाएको छ । समितिले असार ३० गते गोरखापत्रमा एक सूचना प्रकाशित गरि शिवशिखर र तुलसी सहकारी संस्थाले सञ्चालन गरेको मार्ट बिक्रीमा राखेको छ ।


शुक्रबार कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दर्शनधारीको घरमा आगजनिको प्रयास हुनु, बचत फिर्ता संघर्ष समितिकै संयोजक बिहानै पुगेर तोडफोडमा उत्रिनु अहिलेको समस्या समाधान नभएको सहकारी अभियन्ताको भनाई छ । यस्ता घटना कीर्तिपुरमा पहिलो पटक घटेको भने होइन । यसअघि पनि देशका विभिन्न स्थानमा सहकारी संस्था, त्यसका सञ्चालक र परिवारका सदस्यमाथि आक्रमण भइरहेका छन् । उनले भने, ‘यो समस्याको समाधान भने होइन ।’ सहकारी संस्थाहरुलाई अहिले राज्यले पनि अपहेलना गरेको छ, सहकारी संस्थाका विषयमा उचित सम्बोधन गर्न नसक्दा व्यक्तिगत स्वार्थ र आवेशको चपेटामा सहकारी संस्था परिरहेको र बचतकर्ताको निशानामा हामी सञ्चालक परेको सहकारी अभियानका कुलचन्द्र अधिकारीले बताए ।


उनले भने, ‘अहिले सहकारी भन्दा पनि सहकारीकर्मी बचाउन गाह्रो भयो । राज्यले एकै पटक भुक्तानी गर्न नसक्ने रकम सहकारीले कसरी भुक्तानी गर्न सकिन्छ । अहिलेको यो अवस्थामा सहकारी सञ्चालकहरुलाई निकै नै चुनौतीपूर्ण छ ।’ बचतकर्ताले यसलाई गम्भीरतापूर्वक लिएर सहकारीसँग समन्वय गरि अगाडि बढ्न उनले आग्रह गरेको छ । देशमा बढ्दो आर्थिक संकट र सहकारी संस्थाहरुमा देखिएको बढ्दो वित्तिय तरलताका कारण लाखौं निक्षेपकर्ताको रकम सहकारी संस्थामा छ । केहि सहकारी सञ्चालकको निहित स्वार्थका कारण निक्षेपलाई आफूखुशी प्रयोग गर्दा जनताको अर्बाै रकम जोखिममा परेको छ ।

सहकारी संस्थाहरुले निक्षेप फिर्ता दिन नसक्दा गत आर्थिक वर्षमा सहकारी विरुद्ध थुप्रै आन्दोलनहरु भए । सडकदेखि सदनसम्म सहकारी रकम अपचलन गर्ने विरुद्धमा कारवाहीको आवाज नउठेको होइन । कयौं सहकारी सञ्चालक अहिलेपनि हिरासतमा छन् । सहकारी समस्याका विषयमा सडकदेखि सदनसम्म चासोका साथ हेरिरहँदा पछिल्लो समय भने बचत फिर्ता हुने केहि सम्भावनाहरु देखिंदै गएका छन् । तर, यसलाई बचतकर्ताले बुझ्न आवश्यक रहेको भन्छन्, सहकारी अभियन्ता । ‘पछिल्लो समय सहकारी संस्थामाथि बढ्दै गएका आक्रमणले सहकारी संस्थाका सञ्चालक र संस्था थप जोखिममा पर्दै गईरहेको छ ।

तत्काल सहकारी संस्थामा देखिएको समस्या समाधानको उपाय के हो ? भन्ने प्रश्नको जवाफ स्वयम् सहकारी सञ्चालकलाई थाहा छैन । यस्तो अवस्थामा सहकारी संस्थामा जनताको अर्बाै निक्षेप सुरक्षित गर्ने उपाय पनि स्वयमःराज्यलाई नै थाहा छैन । औपचारिक होस् वा अनौपचारिकरुपमा सम्बन्धित निकाय, यसका अभियन्ता तथा सरोकारवालासँग छलफल र परामर्श आवश्यक देखिएको छ ।’ यसका साथै राज्यले थप जिम्मेवारी वहन गर्नुपर्ने भन्छन्, सहकारी विज्ञ तथा अभियन्ताहरु ।


सहकारी सञ्चालकलाई प्रहरी हिरासतमा पुर्याएर समस्या समाधान नहुने कुरालाई अघि सार्दै एक अभियन्ताले भने, ‘सञ्चालकलाई प्रहरी हिरासतमा राखेर बचतफिर्ता हुने भए अहिलेसम्म सिभिल, ओरेन्टीयल, शिवशिखर, इमेज, लालिगुराँस, तुल्सी, गौतम श्री लगायत सहकारीका बचतकर्ताले रकम फिर्ता पाइसक्थे । समस्या समाधानको अहिलेको प्रमुख उपाय भनेको सहकारी संस्था, सञ्चालक र बचतकर्ताबीचको आपसी मेल हो । आवश्यकताको आधारमा समस्या समाधान गर्दै जाने हो भने उत्तम विकल्प उसको सम्पत्ति व्यवस्थापन नै हो, नकि सहकारी सञ्चालकको घर, कार्यालय तोडफोड र आगजनि गर्नु हो ।’


सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले हिमाल खबरमा लेखेका छन्, सहकारी सञ्चालकको मात्रै होइन सदस्यको पनि हो । उनको लेखमा भनिएको छ, सहकारी सदस्य र समुदायको व्यवसाय हो । सहकारीका सदस्यहरु लगानीकर्ता र ग्राहक मात्र होइनन्, आफ्नो व्यवसाय सञ्चालनका क्रममा सदस्यहरुले सामान्य सेवाग्राही वा अंशियारको भूमिकामा मात्र सीमित भएर पुग्दैन, केही दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ ।


सदस्यहरु संस्थाबाट उत्पादित सेवा लिने दायित्वमा रहन्छन् । सहकारीका सदस्य हुने तर अर्को व्यवसायका सेवा-वस्तु लिने गरेमा आफैंप्रति विश्वास नगरेको ठहर्छ । आफ्नो व्यवसायप्रति औपचारिक, आत्मिक र नैतिक रुपमा जवाफदेही नभएसम्म व्यवसायको विकास हुँदैन । सदस्यहरु संस्थाको शेयर किन्ने, इक्विटीमा लगानी गर्ने दायित्वमा रहन्छन्, सहकारीका सदस्यहरु केवल मुनाफा खोज्ने वा सेवा लिने मात्र काममा लाग्दैनन् । उनको लेखलाई आधार मान्ने हो भने अहिले आर्थिक संकटका समयमा सहकारी बचाउन सबैभन्दा बढी दायित्व सदस्यहरुकै हातमा रहेको छ । बचतकर्ताले सहकारी मार्फत आउने विभिन्न फाईदा लिएर आफ्नो अधिकारको सदुपयोग गर्ने मात्रै होईन कि सहकारीलाई समस्या परेको बखत साथ र सहयोग गरि सहकारी सञ्चालन गर्न मद्दत गर्नुपर्ने दायित्व समेत निर्वाह गर्नुपर्दछ ।