काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले नेपाली बजारमा चर्चामा छ । आममानिसका हृदयमा चलचित्र र चलचित्रका पात्रले पारेको प्रभाव प्रशंसनिय छ । चलचित्रमा सारङ्गीको भरमा एउटा गन्धर्व पात्रले छोरालाई डाक्टर बनाएका ‘बा’को कथा र उनको संघर्षलाई सबैले रुचाएका छन् । तर, चलचित्रले देखाउ खोजेको विषय बस्तु र दर्शकको बुझाइँ फरक छ । खासमा चलचित्र, सारङ्गीको भरमा डाक्टर बनेका कमल गन्धर्वले चलचित्रको अन्तिममा छोरीलाई पुर्खाको सारङ्गीको गाथा सुनाउँदै गरेको दृष्य नै चलचित्रको मूख्य एजेण्डा थियो ।
यसलाई सामान्यरुपमा बुझ्दा ‘पूर्ण बहादुरको सारङ्गी’ लोपहुँदै गएको गन्धर्वको पेसा र सारङ्गी संरक्षणमा नयाँ पुस्ताको भूमिकालाई देखाउन खोजिएको चलचित्र थियो । एउटा डाक्टर बनेका कमल गन्धर्वले आफ्नी छोरीलाई निर्धक्क पुर्खाको बाजा र कर्खाको चर्चा गर्नु चलचित्रको मूख्य एजेण्डा थियो । तर, चलचित्रको अधिकांस दृष्य एउटा ‘बा’मा केन्द्रित हुदा सिंगो समुदायको जिवन शैली, उनिहरुको पेसा, योगदान र संस्कृतिलाई चलचित्रमा अधुरो प्रस्तुत गरिएको छ ।
चलचित्रका विषयमा नकारात्मक टिप्पनी गर्न खोजिएको होइन तर, एउटा समुदायको जिवनशैलीमा बनेको चलचित्रले समुदायको प्रतिनिधित्व गर्न नसक्नुलाई तपाई के भन्नु हुन्छ ? निर्माता, निर्देशक, कलाकार र दर्शककालागि यो चलचित्र मात्रै होला, तर सिंगो गन्धर्व समुदायकालागि यो एउटा दस्तावेज हो । चलचित्र एउटा गन्धर्व पात्रमाथि निर्भर भएको दर्शकले भूलिसकेका छन् । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मूख्यपात्र पूर्ण बहादुर गन्धर्व अर्थात विजय बरालको अभियनमा केन्द्रित बन्यो ।
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता, निर्देशक, लेखकको भनाईलाई आधार मान्ने हो भने, गन्धर्व अर्थात एउटा गाइनेको कथा हो । ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकार विजय बराल(पूर्ण बहादुर गन्धर्व)को संघर्षलाई दर्शकले आफ्ना ‘बा’ को संघर्ष सम्झीएका छन् । तर, एउटा गन्धर्व समुदायका दर्शक र पूर्ण बहादुरको सारंगीका पात्रका ‘बा’ को, यो समुदायप्रतिको बुझाइँ फरक छ । गन्धर्व हुनुमा गर्व गर्ने यस समुदायको नेपाली लोक संगीतमा रहेको योगदान, नेपाली लोकबाजा सारङ्गीको पुस्तौदेखिको संरक्षण र नेपाली संगीतमा पुर्याएको योगदानको यस चलचित्रमा चर्चा छैन् ।
गन्धर्व समुदायको ऐतिहासिक महत्व हेर्ने हो भने, एक गाउँको खबर अर्काे गाउँमा पुर्याउने, एउटा जिल्लाको घटना अर्काे जिल्लामा गीतका मार्फत सुनाउने, एउटा पत्रकारको रुपमा भूमिका निभाएका गन्धर्वको चर्चा चलचित्रमा छैन् । जसले गर्दा चलचित्रमा देखाएको गन्धर्वको जिवन शैलीप्रति गन्धर्व समुदायको असन्तुष्टी छ । किन न कि ? त्यहाँ गन्धर्वको वास्तविक ऐतिहास, योगदान र उसको महत्वलाई देखाइएको छैन् । चलचित्रमा गन्धर्व समुदायको चर्चा गर्ने स्थान धेरै भएपनि निर्देशन तथा लेखकले कञ्जुस्याँइ गरेका छन् ।
यति भन्दै गर्दा चलचित्रमा गन्धर्व संस्कृति र परम्परा नदेखाएको पनि होइन । चलचित्रमा राम्रो सारङ्गी बजाउन जान्नेलाई छोरीदिने दृष्य आफैमा रोचक छ । तर, गन्धर्व महिलाहरुले माछा मारेको दष्य भने आफैमा परम्परा होइन । गन्धर्व समुदायमा पनि भूगोल अनुसार आफ्नै परम्परा छ । पूर्व झापा, भोजपुरका गन्धर्व, पश्चिममा बाँके बर्दिया, सुर्खेत, दाङ, सल्यान, प्युठानका गन्धर्व, चितवन, पोखरा, गोरखा, लमजुङका गन्धर्वको परम्परा फरक छ ।
चलचित्रमा गन्धर्वको आफ्नै भाषा प्रयोग कहिकतै छैन् । त्यो लेखक निर्देशकले सोच्न सकेनन् । चलचित्रमा गन्धर्वको दुई परिवार देखाएपनि एक अर्कामा गन्धर्व भाषा प्रयोग गरिएको छैन् । पूर्णबहादुरको सारङ्गीका मूख्यपात्र विजय बराल र अर्का मुकुन भुसाल गन्धर्व परिवारका सदस्य भएपनि एक आपसमा गन्धर्व भाषामा कुराकानी भएको दृष्य छैन्। भाषालाई पनि कहि जोडिदिएको भए हुने । जसले गर्दा यो चलचित्रलाई गन्धर्व समुदायको दस्तावेज मान्न सकिदैन । अर्काे कुरा गन्धर्व समुदायको विवाह, न्वारन, मृत्युसंस्कार आफ्नै छ ।
तर, चलचित्रमा विवाह, न्वारन र मृत्यु संस्कारमा समुदायको प्रतिनिधित्व छैन् । उनिहरुको परम्परा देखिदैन । अर्काे दृष्यः गन्धर्व समुदायको प्रतिष्ठामा ठेस पुर्याउने खालको छ । गन्धर्व त्यसरी कुनै चौतारा, विशौनीमा सारंगी लिएर बस्दैनन् । यति हुँदै गर्दा पनि चलचित्र राम्रो बनेको छ । जसले दर्शकको माया अथाह पाएको छ । एउटा समुदाय जाती विशेषको जिवन शैली र कथालाई टपक्क टिपेर लेखक निर्देशनले सिनेमामा उतारेको गन्धर्व जिवनशैलीलाई अहिले नेपाली समुदायले ठुलो डिजिटल पर्दामा हेरिरहेका छन् । पर्दामा देखाइएको जिवनशैली भन्दा गन्धर्व समुदायको कथा फरक छ, जुन चलचित्रमा देखाइँएको छैन । यस बर्षको लक्ष्मी पुजाबाट देशभर प्रर्दशनमा आएको चलचित्र अहिलेसम्म हाउसफुल छ ।
चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ एउटा गन्धर्व समुदायको कथा भएपनि यसले गन्धर्वको समुदायको वास्तविकता र उनिहरुको जिवनशैलीलाई पूर्णरुपमा प्रस्तुत गर्न सकेको छैन । गन्धर्व समुदायलाई चलचित्रको सूरुदेखि अन्तिमसम्म माग्ने, गीत गाउने, सारङ्गी बजाउने र तल्लो समुदायको रुपमा चित्रण गरिएको छ । हेक्का होस्, गन्धर्व माग्ने जाती वा समुदाय होइन । आफ्नो कला प्रस्तुत गरि मन जितेर हकले कमाउने हो । चलचित्रमा गन्धर्व समुदायको जिवनशैलीलाई प्रष्ट पार्ने धेरै ठाउँ भएपनि चलचित्रले एउटा मनोरञ्जन र रोदनलाई मात्रै प्राथमिकता दिदा गन्धर्व समुदायको जिवन कथा ओझेलमा परेको प्रष्ट हुन्छ ।
कथाकार र निर्देशनले चलचित्रलाई गन्धर्वको जिवनशैलीबाट माथि उठेको कमल गन्धर्व अर्थात चलचित्रका नायक प्रकाश सपुतको भूमिकालाई पुष्टी गर्नमात्रै खोजेको देखिन्छ । कथामा एउटा गाइनेले घर—घर मागेर छोरालाई डाक्टर पढाउने सपनालाई साकार गर्ने र सारङ्गीको भरमा डाक्टर बनेका प्रकाश सपुत(कमल गन्धर्व)को सफलतालाई देखाउने प्रयासमा सिंगो गन्धर्व समुदायको जिवनशैलीलाई अधुरो प्रस्तुत गरेको छ । उनिहरुको यो राज्यमाथिको योगदान र उनिहरुको त्यागलाई चलचित्रमा प्रस्तुत गरेको छैन । २१ औं सताप्दीमा पनि जातिय विभेद भोगिरहेका गन्धर्व समुदायको पिडालाई चलचित्रमा देखाइएको छैन् । कतिलाई यो चलचित्र हो भन्ने मात्रै लाग्ला, तर ‘गन्धर्व समुदायकालागि यो एउटा दस्तावेज’ हो । दस्तावेज त पूर्ण हुनुपर्ने होइन ? गन्धर्व समुदायका नयाँ पुस्ताले सारङ्गी बजाउन छोडि सकेका छन् । बजाउन जान्नेहरुले अहिले आधुनिक शैली अप्नाइ सकेका छन् । फेरी हिजोको पञ्चायत व्यवस्था, २०६२/०६३ को जनआन्दोलनअघि जस्तै गाउँघरमा हिड्न छोडि सकेका छन् । अहिले कयौं गन्धर्व युवाहरु खाडी छन्, केहि पढेलेखेका युवाहरुमा अन्य देशमा पनि बसोबास गरिरहेका छन् । केहि नेपालमै विभिन्न पेसा र व्यवसायमा छन् । चलचित्रले एउटा मागि खाने गन्धर्वको छोरा सारङ्गीको भरमा डाक्टर बनेको देखाएको छ । यसले समुदायमा शिक्षाको महत्व पक्कै बढाउछ । तर, चलचित्रले गन्धर्व समुदायको वास्तविकता झल्काउदैन ।
गन्धर्व समुदाय को हुन ?
गन्धर्व समुदाय अर्थात ‘गाइने’ नेपालको रैथाने लोपउन्मुख समुदाय । सारङ्गी बजाउँदै गाउँ—गाउँ घुम्न जाने समुदायको मुख्य पेसा सारङ्गी बजाउने नै हो । यो समुदायको नेपाली लोक संगीतको जगेर्नामा ठुलो योगदान छ । पछिल्लो समय सञ्चारको विकाससँगै उनिहरुको पेसा संकटमा पर्न थालेपछि कयौं गन्धर्व समुदायले आफ्नो पेसा छोडि सकेका छन् । उनिहरुको लोपहुँदै गएको पेसा र सारङ्गीको संरक्षण गर्न गन्धर्व संगीतको पुस्तान्तरण देखाउन बनाइएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को चर्चा हुदैँ गर्दा यस चलचित्रले गन्धर्व समुदायको प्रतिनिधित्व भने पटक्कै गरेको देखिदैन ।
पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्यको एकिकरण गर्दा गोरखाका मनिराम गाइनेको भूमिका, पञ्चायत शासन विरुद्धको आन्दोलनमा गन्धर्वको भूमिका, २००७ मा प्रजातन्त्र स्थापनामा समुदायको भूमिका, २०४६-०४७ सालमा प्रजातन्त्र पुनस्थापनाकालागि भएको आन्दोलन, दश बर्षे जनयुद्ध, र २०६२-०६३ को जनआन्दोलनमा गोरखाकै बालगायक रुविन गन्धर्वले नारायणहिटी अघि राजसंस्थाका विरुद्धमा गाएको गीतको चर्चा चलचित्रमा देखिदैन । मनिराम गाइनेले पृथ्वीनारायण शाहलाई राज्य एकिकरणकालागि विभिन्न राज्यको अवस्था, युद्धकला र त्यहाँका मानिसहरुको गतिविधिका विषयमा सुचना प्रभाह गरेको चर्चा चलचित्रमा छैन । एउटा सञ्चारकर्मीको भूमिकाका रुपमा लिइने गन्धर्व समुदायलाई मागिखाने जातकारुपमा चलचित्रमा चित्रण गरिनु कति न्याय होला ?
दश बर्षे जनयुद्धमा गन्धर्वहरुले राज्य सत्ताका व्यक्तीहरुका विषयमा तत्कालिन माओवादीलाई दिएको सूचना र उनिहरुको योगदानका विषयमा कति कतै चर्चा भएन । चलचित्रमा मुख्य पात्र पुर्ण बहादुर गन्धर्व अर्थात विजय बरालले गन्धर्वको एतिहासका विषयमा खुलेर बोल्न सक्थ्ये तर, उनले गन्धर्व समुदायको ऐतिहासिक महत्वका विषयमा उनका छोरालाई कहि कतै भनेन् ।
राजसंस्था अन्त्यकालागि भएको २०६२-०६३ को जनआन्दोलनका समयमा बाल कलाकार रुविन गन्धर्वले दिएको योगदानका विषयमा पनि कहि कतै चर्चा भएन । चलचित्रमा नायकको रुपमा रहेका प्रकाश सपुत अर्थात कमल गन्धर्वको डाक्टर पासआवट २०६५ तिर भएको हुन्छ । त्यति वेलासम्म देशले पहिलो संविधानसभा पाइसकेको थियो । अर्थात देशमा धेरै परिवर्तन आइसकेको थियो । उपलब्धिको संस्थागत भइसकेका थिए । चलचित्रले यस्ता विषयमा गन्धर्व समुदायको संलग्नता समावेश गर्न सकेन ।
गन्धर्व समुदायलाई वैकल्पीक सञ्चारका साधकका रुपमा लिइन्छ । तपाई पत्रकारिता बढ्दै हुनुहुन्छ वा माक्स मिडिया पढ्नुभएको छ भने मैले यो विषय भनिराख्नु नपर्ला । वैकल्पीक मिडियाका रुपमा गन्धर्व समुदायलाई अग्रपंक्तिमा लिइन्छ । सञ्चारका साधनहरुको विकास नहुदा, नेपालमा यातायात र सडक सञ्जालको विकास नहुँदा यिनै गन्धर्व समुदायले एक ठाउँको खबर अर्काे ठाउँमा लैजाने गर्थे ।
कुनै ठाउँमा भएका घटनालाई ‘कर्खा’बनाइ गाउने र उक्त घटनाका विषयमा आममानिसलाई जानकारी गराउने परम्परा थियो । चलचित्रको अन्तिममा नायक प्रकाश सपुत अर्थात कमल गन्धर्वले आफ्नी छोरीलाई ‘कर्खा’ सिकाउछु भन्छन् । खासमा ‘कर्खा’ गन्धर्व समुदायले गाउने परम्परागत शैलीको गायन शैली हो । यसमा कुनै व्यक्ती, क्षेत्र वा भूगोल र तथ्यगत घटनालाई सबैले बुझ्ने शैलीमा भट्टाई गाउने गरिन्छ । यसमा यर्थात र विरह हुन्छ । चलचित्रको अन्तिम तिर विषयबस्तुमा प्रवेशगरे पनि पुर्णता भने दिएको छैन । चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ गन्धर्व समुदायकालागि एउटा ‘अपुर्ण दस्तावेज’ हो ।
— सन्तोष गन्धर्व,पत्रकार