काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।
असार ३१ गते बसेको सुरक्षा समिति बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिनासम्म रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।
त्यसअघि यही असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए ।