Thursday, June 26, 2025

२०८२ असार १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईएमई ग्रुपको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग सञ्चालनमा


आईएमई ग्रुपको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग सञ्चालनमा

काठमाडौं । आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार काठमाडौं आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्दै उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । उनले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र नभई निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैँ प्रोत्साहन दिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्गप्रशस्त गर्ने उल्लेख गरे । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रियस्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

आईएमई ग्रुप अन्तर्गत झन्डै डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योग रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा रहेको    छ । यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्णरूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् ।

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माणसमेत गर्न सकिन्छ, यो १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ ।

प्राकृतिक प्रकोप जस्तै– भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्नेछन् । प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ । यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ । अहिले झन्डै २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन् जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् । एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।