एजेन्सी । चीनको प्रमुख विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले ब्राजिलमा सस्तो मूल्यका विद्युतीय कार धमाधम निर्यात गरिरहेको छ । अघिल्लो महिना मात्रै २० वटा फुटबल मैदान बराबरको विशाल कार्गो पानीजहाजमार्फत ७ हजार ३ सय नयाँ बीवाईडी ब्राजिलको इटाजाइ बन्दरगाहमा ढुवानी गरिएको थियो । यो पछिल्लो एक वर्षमा ब्राजिलतर्फ गएको चौथो ठूलो चिनियाँ कार्गो पानीजहाज थियो ।
चिनियाँ कारको यस्तो ओइरोले स्थानीय उद्योग धराशायी बनेको र रोजगारी प्रभावित हुने भन्दै ब्राजिलका अटो व्यवसायीले चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ । विभिन्न देशमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा बीवाईडीले हाल उल्लेख्य मात्रामा कार्गो पानीजहाज परिचालन गरिरहेको छ । अहिले ब्राजिललाई मुख्य गन्तव्य बनाउँदै बीवाईडीले हालसम्म करिब २२ हजार कार निर्यात गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । बीवाईडीसँगै ब्राजिलमा अन्य चिनियाँ ब्रान्डले पनि उपस्थिति बढाएका छन् । ब्राजिलमा चीनबाट आयात हुने सवारीसाधनको संख्या यस वर्ष ४० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
ब्लुमबर्गका अनुसार चीनमा यस वर्षको पहिलो ६ महिनामा बिक्री भएका १० मध्ये ९ वटा गाडी विद्युतीय थिए । सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने प्रारम्भिक चरणमै रहेको भए पनि ब्राजिलमा यो क्रम तीव्र गतिमा अघि बढेको देखिन्छ । त्यहाँ सन् २०२४ को पहिलो ६ महिनामै ५५ हजार युनिट यात्रुवाहक ईभी बिक्री भएका थिए । ईभीको बजार बढिरहँदा ब्राजिलमा चिनियाँ गाडीको ओइरो लागेको हो । युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा जस्तो यस दक्षिण अमेरिकी देशमा चिनियाँ ब्रान्ड र उत्पादनलाई नीतिगत अवरोध छैन ।
चिनियाँ ईभी कम्पनीहरूले ब्राजिल जस्तै उदीयमान, कम प्रतिस्पर्धा र माग उच्च भएका बजारमा विशेष ध्यान दिँदै निर्यात बढाएका छन् । सन् २०२४ को पहिलो ६ महिनामा ब्राजिलमा बेचिएका ईभीमध्ये ८९ प्रतिशत चिनियाँ कम्पनीका थिए भने सन् २०२३ मा यो संख्या २४ प्रतिशत मात्रै थियो । बीवाईडीले सन् २०१५ देखि नै ब्राजिलमा आफ्ना ईभी र प्लग–इन हाइब्रिड भेहिकल बेच्न थालेको थियो । सन् २०२३ र २०२४ को तुलनामा यस कम्पनीका गाडीको बिक्री ३२७ प्रतिशतले वृद्धि भएको ब्राजिलका पत्रकार गाब्रियल डारोसले ‘रेस्ट अफ वर्ल्ड’ मा लेखेका छन् । उनका अनुसार ईभी आयातमा ब्राजिलले लागू गरेको शून्य कर नीतिका कारण यो वृद्धि सम्भव भएको हो ।