काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदर परिवर्तन गरेको छ । कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो । कोषले सञ्चयकर्तालाइ दिने ब्याजदर सहति सापटीमा लिने ब्याजदर पनि परिवर्तन गरेको छ ।
उसले लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरेको जनाएको छ । कोष सञ्चालक समितिले १ साउनदेखि लागु हुने गरी निर्णय गरेको हो ।
कोषले विशेष सापटी बाहेक धितोमा आधारित सापटीको ब्याज नियमित चुक्ता गर्ने सञ्चयकर्ताका हकमा ०.२५ प्रतिशतले छुट दिने व्यवस्था गरेको छ । कोषले सञ्चयकर्तालाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि १ करोडसम्म र घर मर्मत गर्न ३० लाखसम्म सापटी प्रदान गर्दै आएको छ ।
यस्तै सञ्चयकर्ता स्वयं वा पतिपत्नी वा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने/गराउने प्रयोजनका लागि शैक्षिक सापटी ४० लाखसम्म र सञ्चयकर्ताको सेवा अवधिमा भइपरी आउने कार्यका लागि दिइने सरल सापटी ६० लाखसम्म प्रदान गर्दै आएको छ । कोषले सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीका रूपमा प्रदान गर्ने गरेको छ ।
कोषबाट चालु आर्थिक वर्ष १ लाख ५८ हजार ३ सय ४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४ सय ५६ ले कोष भुक्तानी, २ हजार ९ सय २६ ले धितोमा आधारित सापटी, २५ हजार २ सय ९८ ले सामाजिक सुरक्षा सुविधा र १ हजार ७ सय ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तिभरण भुक्तानी लिएका छन् ।
कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र तथा सामुदायिक एवं संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३ सय ९१ योगदानकर्ता गरी कुल ६ लाख ७९ हजार ३ सय ९१ सञ्चयकर्ता र योगदानकर्ता आबद्ध छन् ।