Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी,मौद्रिक नीति के हो ? के यो बजेटभन्दा फरक छ ?


मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी,मौद्रिक नीति के हो ? के यो बजेटभन्दा फरक छ ?

काठमाडौँ । चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१—८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा.भागवत आचार्यका अनुसार अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक हुने  छ । मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो ।

गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन । अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ ।

त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव  पार्छ । पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन्, भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।

 के हो मौद्रिक नीति ?

कुनै पनि राष्ट्रका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोतमा वित्तीय स्रोत पर्छ। त्यो स्रोतलाई मुलुकको उत्पादन, रोजगारी अनि वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई पनि बलियो बनाउने उद्देश्य लिएर निर्माण गरिने नीति नै मौद्रिक नीति हो ।  विकिपिडियामा मौद्रिक नीतिलाई यसरी परिभाषित गरिएको छ,मौद्रिक नीति भनेको अल्पकालीन कर्जाको ब्याजदर तथा मुद्रा आपूर्ति नियन्त्रण गर्ने, तथा मुद्रास्फीति नियन्त्रण गर्ने, मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउने लक्ष्य राख्ने नीति हो।

यो मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति हो। मौद्रिक नीति मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्न बनाइने नीति हो। कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ। मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउँछ। अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने कुरा मौद्रिक नीतिले नै निर्धारण गर्छ।

मौद्रिक नीति बजेटभन्दा फरक छ ?
मौद्रिक नीतिले ब्याज दर सम्बन्धित कुराहरूलाई दृष्टिगत गर्दै नीति निर्माण गर्छ । बजेटको उद्देश्य राजस्व वृद्धि तर्फ केन्द्रित हुने गर्छ बजेटमार्फत् सरकारले लक्ष्यअनुसार खर्च गरेर नतिजा प्राप्त गर्नेगरी नीति सार्वजनिक गर्नुपर्ने हुन्छ जुन प्रत्येक वर्षको नियमित प्रक्रिया हो। बजेटले आम्दानी र खर्चबारे मात्रै कुरा गर्ने अर्थविदहरुको भनाई छ ।

अर्थ—राजनीतिक दस्तावेजका रूपमा समेत हेरिने हुँदा बजेटमा लोकप्रियवादी कार्यक्रमहरू पनि समावेश गरिएको हुन्छ। त्यसता कार्यक्रममा हुने खर्चले मुद्राको मूल्य कायम राख्न चुनौतीपूर्ण हुन जान्छ। वस्तु र सेवा स्थिर रहने तर रकमको उपलब्धता सहज भएर खर्च गर्न सक्ने अवस्था हुँदा बजारमा मूल्य वृद्धि हुदै जाने विज्ञहरुको दावी छ । मुद्राको मूल्य कायम गर्ने केन्द्रीय बैंकको भूमिका रहने हुँदा उसले मौद्रिक नीतिमार्फत् बजारलाई सन्तुलनमा राख्नेगरी नीति सार्वजनिक गर्ने गर्छ ।