Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री दाहालको भारत भ्रमण अर्थतन्त्रमा केन्द्रीत हुने


काठमाडौं, ९ जेठ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा प्रस्तुत गरिने एजेन्डा तय गरेको छ । दाहालको आसन्न भारत भ्रमणका बेला ऊर्जा क्षेत्रका विषयमा प्रस्तुत गर्ने करिब आधा दर्जन एजेन्डा नेपालका तर्फबाट प्रस्तुत गरिने भएको छ । भ्रमणका क्रममा नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, थप विद्युत् व्यापार अनुमति, बंगलादेशसँग विद्युत् व्यापारको सहजीकरणलगायत एजेन्डा नेपाली पक्षले प्रस्तुत गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालले विशेषगरी भारतीय बजारमा बिक्री गर्दै आएको बिजुलीको नवीकरण प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था छ । तर यसमा नेपालले दीर्घकालीन सम्झौताको प्रस्ताव गर्नेछ । यसको अवधि २५ वर्षसम्मको हुने जनाइएको छ । भारतले अनुमति दिएका १० आयोजनामध्ये ८ को म्याद थपका लागि नेपाली पक्षले स्वीकृतिका लागि पनि भारत पठाइसकेको छ । यसरी बर्सेनि म्याद थपका लागि सुरुवाती चरणबाटै प्रक्रिया गर्नुपर्ने हुँदा दुवै पक्षलाई झन्झट हुनाले दीर्घकालीन रूपमा २५ वर्षे सम्झौताको प्रस्ताव गर्ने गरी एजेन्डा तय गरेको जनाइएको छ । भारतले २५ दीर्घकालीन अनुमति दिए पटकपटक आयोजनाको स्वीकृतिका लागि भारत पठाउनुपर्दैन ।

भ्रमणका अवसरमा नेपाल–बंगलादेश विद्युत् व्यापारको ‘ब्रेक थ्रु’ हुन सक्ने पनि मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘बंगलादेशसम्म ४० मेगावाट बिजुलीको बाटो दिन भारत तयार छ,’ स्रोतले भन्यो, ‘सबै प्रक्रिया मिलिसकेको छ, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा घोषणाका लागि राखिएको हुन सक्छ ।’ ०७९ फागुनमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले बंगलादेशसम्म विद्युत् व्यापारको अनुमति दिन आग्रह गरेको थियो ।