काठमाडौं । आज १६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए ।
सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७० औं वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७० औं वर्ष मनाइने नेपाल पर्वतारोहण सङ्घ एनएमएले बताएका छन् । दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजकसमिति गठन गरिएको छ ।
कार्यक्रमअनुसार आज बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिनेछ । ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ । सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलोपटक आरोहीलाई पदक प्रदान गर्न लागिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए ।