काठमाण्डौ । काठमाण्डौको ठमेलस्थित एलओडी क्लब अर्थात् ‘लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औँ स्थानमा पर्न सफल भएको छ ।
विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ४९औँ लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो ।
बेलायतको मासिक पत्रिका डिजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औँ स्थानमा परेको हो ।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरुको छनौट गर्ने गर्छ । यसअघि सन् २०२२ का लागि ‘एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औँ स्थानमा प्रवेश गरेको थियो ।
क्लबसँगै राष्ट्रको नाम पनि सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन कुँवर बताउँछन् । उनका अनुसार उक्त क्याम्पियनमा विश्वभरिका ५०० वटा क्लबहरु सहभागी भएका थिए । नेपालबाट विश्वका सय उत्कृष्ट क्लबभित्र पर्दा नेपालका क्लब व्यवसायीहरुले पनि राष्ट्रको नाम विश्वसामु चिनाउने गरी काम गरेको निर्देशक कुँवरले जानकारी दिए ।
पछिल्लो समय विदेशी पर्यटक तथा रात्रीकालीन जीवनका पारखीहरुलाई यस क्लबले आकर्षण गरेको छ । गुणस्तरीय सेवा–सुविधाहरुका साथै आधुनिक प्रविधि, रोमाञ्चक वातावरण र गुणस्तरीय संगीतले आकर्षण गर्दै आएको एलओडीले निरन्तर रुपमा क्लबिंगको अनुभव प्रदान गर्नै आईरहेको छ ।