काठमाडौं, ७ जेठ । नेपाल र अमेरिकाबिच व्यापार एवं लगानीसम्बन्धी सम्झौतालाई निरन्तरता दिन आग्रह गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबिचको व्यापार तथा लगानी कार्य ढाँचा सम्झौता अन्तर्गतको व्यापार तथा लगानी परिषद् ९टिफा काउन्सिल० को शुक्रबार काठमाडौँमा सम्पन्न छैटौँ बैठकले त्यसलाई निरन्तरता दिने छलफल गरेको छ ।
नेपालको उत्पादनलाई जोड्ने गरी लगानी सहायता परिचालन गर्न छलफलले जोड दिएको बताइएको छ । नेपालबाट निर्यात सम्भावना भएका वस्तु थप गर्ने, उत्पादन क्षमता र निर्यात प्रवर्धनमा प्राविधिक सहायता परिचालन गर्ने विषयमा जोड दिइएको छ ।
बैठकमा नेपालले अमेरिकासँग व्यापारमा पाउँदै आएको सुविधालाई निरन्तरता दिन आग्रहसमेत गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विभिन्न ७७ वटा वस्तुको निर्यातमा अमेरिकाले दिँदै आएको ड्युटी फ्रीको सुविधालाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ ।
आगामी सन् २०२५ सम्म नेपालले ७७ वस्तु निर्यातमा छुटको सुविधा पाएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि सहुलियतका लागि भन्दै नेपालबाट आयात हुने थप वस्तुमा अमेरिकाले भन्सार सुविधा दिएको थियो ।
बैठकमा व्यापार तथा लगानी कार्यढाँचा सम्झौताले समेटेका द्विपक्षीय व्यापार र लगानीसँग सम्बन्धित लगानीमैत्री वातावरण, डिजिटल अर्थतन्त्र, बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
उद्योग एवं वाणिज्य मन्त्रालयका वाणिज्य सचिव मधु मरासिनीले अतिकम विकसित राष्ट्रबाट नेपाल सन् २०२६ मा विकासशीलमा स्तरोन्नति हुने भए पनि आफूले पाउने सुविधालाई भने निरन्तरता दिन आग्रह गरिएको जानकारी दिनुभयो ।
भन्सार र व्यापार सहजीकरण, कृषि व्यापार, बजार पहुँच र व्यापारका प्राविधि अवरोधहरू, अति कम विकसित मुलुकको समूहबाट नेपालको दिगो स्तरोन्नति र नेपाल व्यापार ग्राह्यता कार्यक्रमको उपयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालले सन् २०२५ पश्चात् नेपाल व्यापार ग्राह्यता कार्यक्रमको निरन्तरता र निर्यात सम्भावना भएका वस्तु थप गर्ने, उत्पादन क्षमता र निर्यात प्रवर्धनमा प्राविधिक सहायता विस्तार गर्ने, सूचना प्रविधि सम्बद्ध सेवाको निर्यात, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा नेपालको उत्पादनलाई जोड्ने गरी लगानी र सहायता परिचालन गर्ने विषयमा जोड दिएको छ ।
संयुक्त राज्य अमेरिकाको तर्फबाट नेपालले पछिल्लो समय लगानीमैत्री वातावरण निर्माणमा गरेका सुधारको प्रशंसा गर्दै निर्यात प्रवद्र्धन र अल्पविकसित मुलुकबाट दिगो स्तरोन्नतिका लागि नेपालका प्रयासमा साझेदारी गर्ने प्रतिबद्धता भएको छ ।
नेपालको तर्फबाट वाणिज्य सचिव मधुकुमार मरासिनी र संयुक्त राज्य अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक सहायक व्यापार प्रतिनिधि ब्रेन्डल लिन्चको सहअध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
दुई देशबिच सन् २०११ मा भएको व्यापार एवं लगानी सम्झौता अन्तर्गत काठमाडौँमा शुक्रबार छैटौँ बैठक बसेको हो । निर्यात वृद्धि, नेपालमा अमेरिकी लगानी, अन्य प्राविधिक सहायतालगायतका विषयमा दुई मुलुकबिच उच्चस्तरीय छलफल भएको हो ।
बैठकमा आगामी सातौँ टिफा बैठक संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा सन् २०२४ मा आयोजना गर्ने सहमति भएको छ ।