काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र केहि सुधारको संकेत देखिएको बताएका छन् । उनले प्रधानमन्त्री बन्दैगर्दा अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भने, संसद्ले सरकारको नेतृत्व दिँदै गर्दा देश गम्भीर आर्थिक संकटमा थियो ।
एउटा भाष्य बनेको थियो आम रूपमा कि नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो । यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन, आम नागरिकसम्म पुगेको थियो । टीभी र मोबाइलका स्क्रिनहरूमा छाइरहेको श्रीलंकाको तस्बिरले देशलाई आशंकित र त्रसित बनाएको थियो । श्रीलंकाको दुःश्वप्नबाट जागिसकेको छ । यसबीचमा अर्थतन्त्र केही जागेको छ ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्र जाग्नु सरकारको मात्रै नभई राष्ट्रकै उपलब्ध रहेको बताए । अर्थतन्त्रका सबै सूचक सकारात्मकतातर्फ अगाडि बढेको उनले बताए । अहिले सबैजसो आर्थिक सूचक सकारात्मकतर्फ अगाडि बढ्दै छन् । पछिल्लो ६ महिनायता कूल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ । अब हामी ९.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौं ।
यसैगरी कूल वस्तु व्यापार घाटामा १५।२ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य रूपमा वृद्धि भएको छ, उनले भने, गतवर्षको यसै अवधिका तुलनामा पर्यटक संख्या दोब्बर बढेको छ । बैंकदर र ब्याजदर क्रमशः घट्दै गएको छ । वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको छ ।
चुहावटलाई कडाइका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको छ । नेपाल विद्युत् प्राधिकारण र नेपाल आयल निगम नाफामा गएको प्रधानमन्त्रीले बताएका छन् । उनले नेपाल वायु सेवा निगमको अवस्था पनि सुधारोन्मुख रहेको जानकारी दिए ।
वैदेशिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालन गरिएको बताउँदै उनले ठूला सम्भावित लगानीकर्तासँग प्रधानमन्त्रीकै तहबाट अग्रसरता लिएको बताए । वैदेशिक लगानीमा पनि सकरात्मक संकेत देखा परेको बताए ।