Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चोभारको सुक्खा बन्दरगाह सार्ने तयारी, प्रयोग हुनै छोड्यो


काठमाडौं, ९ जेठ । चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा आएको १ वर्ष वितिसक्दा पनि यसको उपयोग भने करिब शून्यजस्तै छ । दैनिक २–३ वटा सवारीसाधनले मात्रै यो सुक्खा बन्दरगाह उपयोग गर्ने गरेका छन् । यसको क्षमताको तुलनामा यो नगन्य हो । यस बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले सरोकारवालाहरुसँग छलफल गर्दै आएको छ ।

बन्दरगाह चल्न नसकेपछि विरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सुक्खा बन्दरगाहमा थन्किएका सवारीसाधनलाई चोभारमा ल्याएर राख्ने तयारी भएको छ । आइतबार मात्रै समितिले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँग यस विषयमा छलफल गरेको छ । सो छलफलका क्रममा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि निजी क्षेत्रको साथ चाहिएको बताए ।

सो क्रममा गजुरेलले वीरगन्जमा थन्किएका १ हजार ९ सय ५० वटा नयाँ जीप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा ल्याउने सम्बन्धमा कानुनी व्यवस्था भइसकेको जानकारी दिए । साथै उनले आयातित ती सवारीसाधनलाई वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउने व्यवस्थाका लागि नाडासँग आग्रह गरे । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ गाडीहरुको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोही बमोजिम नयाँ गाडीहरु चोभारमै जाँचपास हुने दाबी गरे । नाडाले सबै व्यवसायीलाई चोभार सुक्खा बन्दरगाहबाट सवारी जाँचपास गराउन अनुरोध गर्ने थापाले जानकारी गराए ।

नेपालको भारततर्फ व्यापारलाई सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले हाल विराटनगरमा १, वीरगञ्जमा २, भैरहवामा १ र काकडभित्तामा १ गरी ५ वटा सुक्खा बन्दरगाह सञ्चालनमा छन् । त्यस्तै चीनतर्फको व्यापार सहजीकरणका लागि सिन्धुपाल्चोकको तातोपानीमा एउटा सुक्खा बन्दरगाह सञ्चालन भइरहेको छ । ती बन्दरगाहमा जाँचपास हुन नसकेका सवारीलाई चोभार सुक्खा बन्दरगाहमार्फत प्रक्रिया पूरा गराई काठमाडौं उपत्यका भित्र्याउने उद्देश्यले यो बन्दरगाह संचालनमा आएको हो । यो बन्दरगाह चल्न नसकेपछि संचालक समितिले यसअघि उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्डस् एसोसिएसन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायत सरोकारवालासँग नियमित छलफल गर्दै आएको छ ।—: हामी विजनेस दर्शन अनलाइन न्युज पोटल परिक्षणका क्रममा छौं । आफ्नो अमुल्य सुझाव दिनुहोला । धन्यवाद